नवलपरासी, १३ फागुन । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–३ बेलासपुरमा दुई समुदायबीच भएको झडपमा २० जना घाइते भएका छन्। विवादका क्रममा स्थानीयले प्रहरीको गाडी जलाएको घटनाले तनावपूर्ण अवस्था सिर्जना भएको छ।
प्रहरीका अनुसार, दुई समुदायका युवा र युवतीबीच प्रेम विवाह भएपछि झडपको सुरुवात भएको थियो। करिब चार महिनाअघि फरक समुदायका युवक र युवतीले प्रेम विवाह गरेपछि गाउँमा विवाद चलिरहेको थियो। सोमबार एउटा गाडीले मानिसलाई ठक्कर दिएको विषयलाई लिएर विवाद झन् उग्र भएको हो।
नवलपरासी पश्चिमका निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेका अनुसार, गाडीले ठक्कर दिएपछि दुई समुदायबीच तनाव बढेको थियो। विवाद समाधान गर्न प्रहरी र सशस्त्र प्रहरी पुगेका थिए। तर, स्थिति नियन्त्रणभन्दा बाहिर गयो र झडप सुरु भयो। घटनामा १२ जना जनपथ प्रहरी, ४ जना सशस्त्र प्रहरी र ५ जना स्थानीय बासिन्दा घाइते भएका छन्।
झडपका क्रममा स्थानीयले प्रहरीको बा १ झ ७४४८ नम्बरको गाडी जलाएका छन्। गाडीलाई ब्याक गर्दा मानिसलाई ठक्कर दिएको विषयबाट सुरु भएको विवादले दुई पक्षबीच झडपको रूप लिएको हो।
घिमिरेले घटनाको क्रममा नजिकै रहेको पुरानो टायरको ग्यारेजमा आगजनी भएको बताए। स्थानीयले त्यही जलिरहेको टायर फालेर प्रहरीको गाडीमा आगो लगाएका थिए।
घाइतेहरूमध्ये विजय धवल र बैजनाथ प्रसाद लोहनियालाई अस्पताल पठाइएको छ। घिमिरेले अहिले स्थिति सामान्य रहेको र थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।




प्रतिक्रिया !