काठमाडौँ , ११ फागुन – उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले दुधकोशी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विमल गुरुङलाई हटाउन दबाब दिएको विषय बाहिर आएको छ। मन्त्री खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पत्र लेख्दै गुरुङलाई पदबाट हटाउन भनेको खुलासा भएको हो।
यो घटनाको कारण सामाजिक सञ्जालमा गुरुङले मन्त्री खड्काका बारेमा लेखेको कथित गैर जिम्मेवार समाचारलाई मानिएको छ। उर्जामन्त्रीले यस आधारमा गुरुङलाई जिम्मेवारीबाट हटाउन आग्रह गर्दै प्राधिकरणमा औपचारिक पत्र पठाएका छन्।
फागुन ८ मा उर्जा मन्त्रालयका शाखा अधिकृत यज्ञ प्रसाद सुवेदीले नेपाल विद्युत प्राधिकरणलाई पत्र लेख्दै गुरुङलाई तत्काल पदमुक्त गर्न निर्देशन दिएका थिए। पत्रमा भनिएको छ, “गुरुङले मन्त्रालय र यस मन्त्रालयका मन्त्रीज्यूको सम्बन्धमा सामाजिक सञ्जालमा गैर जिम्मेवार ढंगले समाचार संप्रेषण गरेको हुँदा, उनलाई तत्काल सो जिम्मेवारीबाट हटाउने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण संचालक समितिको बैठकमा छलफल भइसकेको छ। तर, हालसम्म पनि उनलाई हटाइएको छैन, त्यसैले तत्काल हटाई यस मन्त्रालयलाई जानकारी गराउनुहुन अनुरोध छ।”
यो पत्र देश सञ्चारलाई प्राप्त भएको छ जसअनुसार, फागुन ८ को सचिवस्तरको निर्णयले गुरुङलाई हटाउन भनिएको हो।
मन्त्री खड्काले पत्राचारमार्फत दुधकोशी जलविद्युत आयोजनाको प्रमुख कार्यकारीलाई हटाउन माग गरेपछि यस घटनाले उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणभित्र विवाद उत्पन्न गराएको छ। गुरुङले सामाजिक सञ्जालमा मन्त्रालय र मन्त्रीको आलोचना गरेकाले यसलाई व्यक्तिगत विषयका रूपमा लिइएको देखिन्छ।
तर, यस घटनामा नेपाल विद्युत प्राधिकरणको संचालक समितिले के निर्णय लिनेछ भन्ने बारे अझै स्पष्टता आएको छैन। कुलमान घिसिङ नेतृत्वको प्राधिकरणले मन्त्रीको निर्देशनलाई कसरी लिन्छ र गुरुङको हटाउने वा नराख्ने बारे के निर्णय गर्छ भन्ने विषयले आगामी दिनमा थप चासो पाउनेछ।
गुरुङले यस प्रकरणमा आफ्नो धारणा वा प्रतिक्रिया सार्वजनिक गरेका छैनन्।




प्रतिक्रिया !