एजेन्सी ०८ फाल्गुन। भारतको राजधानी दिल्लीले आज नयाँ मुख्यमन्त्री पाउँदैछ। भारतीय सत्तारुढ दल भाजपाकी नेतृ रेखा गुप्ता मुख्यमन्त्री बन्दैछिन्, जसले आज शपथ लिनेछिन्। रेखासँगै अन्य ६ जना मन्त्रीहरूले पनि पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछन्।
बुधबार साँझ बसेको भाजपा विधायक दलको बैठकले रेखा गुप्तालाई मुख्यमन्त्री चयन गरेको हो। प्रवेश वर्मा उपमुख्यमन्त्री तथा विजेन्द्र गुप्ता विधानसभा अध्यक्ष हुने भएका छन्। प्रवेश वर्माले नयाँ दिल्ली सिटबाट आम आदमी पार्टीका राष्ट्रिय संयोजक तथा पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाललाई पराजित गरेका थिए।
भाजपाले रविशंकर प्रसाद र ओम प्रकाश धनखरलाई पर्यवेक्षकको रूपमा नियुक्त गरेको थियो। दुवै नेताले विधायक दलको बैठकअघि भाजपाका सबै विधायकहरूसँग परामर्श गरेका थिए। त्यसपछि सतीश उपाध्याय र विजेन्द्र गुप्ताले रेखा गुप्ताको नाम प्रस्ताव गरेपछि औपचारिक रूपमा मुख्यमन्त्रीको घोषणा गरिएको हो।
शपथ ग्रहण समारोह बिहीबार रामलीला मैदानमा हुने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। दिल्लीका मुख्य सचिवले पठाएको निमन्त्रणामा मुख्यमन्त्रीसहित नयाँ मन्त्रीपरिषद्का सदस्यहरूको पनि शपथ ग्रहण हुने उल्लेख छ।
हालै सम्पन्न दिल्ली विधानसभा चुनावमा भाजपा २७ वर्षपछि पुनः सत्तामा फर्किएको हो। भाजपाले ४८ सिट जित्दै बहुमत प्राप्त गरेको थियो भने आम आदमी पार्टी २२ सिटमा सीमित भएको थियो।



प्रतिक्रिया !