जनकपुरधाम ०७ , फाल्गुन । आज देशभर ७५औं राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रमहरूको आयोजना गरी मनाइँदैछ। सैनिक मञ्च टुँडिखेलमा बिहान विशेष समारोहको आयोजना गरिएको छ, जहाँ राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि रहनुहुनेछ। समारोहमा ज्ञात-अज्ञात सहिदहरूको सम्मानमा श्रद्धाञ्जली अर्पण गरिँदै छ, जसले देशमा प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गरेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ। यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। नेपालमा जहानियाँ राणा शासनको अन्त्य हुँदै प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरण गर्दै २००७ सालको फागुन ७ गतेलाई राष्ट्रिय प्रजातन्त्र दिवसको रूपमा मनाउने प्रचलन रहेको छ। यो दिन नेपाली जनताका लागि गौरवपूर्ण र अविस्मरणीय रहँदै आएको छ।
राष्ट्रपति पौडेलले आफ्नो शुभकामना सन्देशमा मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यताको स्मरण गराउँदै, यो प्रजातन्त्र प्राप्तिका लागि भएको संघर्ष र सहिदहरूको बलिदानबाट स्थापित भएको बताउनुभएको छ। उहाँले शान्ति, प्रजातन्त्र र समृद्धिको मार्गमा सबैलाई ऐक्यबद्ध भएर अघि बढ्न आह्वान गर्नुभएको छ।
प्रजातन्त्र दिवसलाई देशभर विविध कार्यक्रमहरूसहित मनाइँदै छ। विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरू, राजनीतिक दलहरू र नागरिक समाजले विशेष कार्यक्रमको आयोजना गरी प्रजातन्त्रका मूल्य र मान्यतालाई अझ मजबुत बनाउन जोड दिएका छन्।
यस दिनको अवसरमा शिक्षण संस्थाहरूमा पनि विशेष कार्यक्रमहरू राखिएको छ, जसमा विद्यार्थीहरूलाई प्रजातन्त्रको महत्व र त्यसका उपलब्धिहरूबारे जानकारी गराइँदैछ। प्रजातन्त्र स्थापनामा योगदान पुर्याएका नेताहरूको योगदानको स्मरण गर्दै देशले आगामी दिनमा अझ सुदृढ र समृद्धि पाउने अपेक्षा गरिएको छ।
देशभरको जनसमुदायले यस दिनलाई उत्सवका रूपमा मनाइरहेका छन्।




प्रतिक्रिया !