जनकपुरधाम ०६ फाल्गुन । सिरहाको नवराजपुर गाउँपालिकामा भएको रिंकु सदा मृत्यु प्रकरणमा थप अनुसन्धानको लागि मधेश प्रदेश प्रहरीले छानबिन समिति गठन गरेको छ। मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शान्ति राज कोईरालाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो। यस समितिमा प्रहरी निरीक्षक तथा मुद्दा शाखाका अन्य चार सदस्य रहेका छन्।
समितिले आजैबाट घटनास्थलमा पुगेर अनुसन्धान कार्य प्रारम्भ गरेको प्रहरी कार्यालयले जानकारी दिएको छ। सिरहा जिल्लाको नवराजपुर गाउँपालिका-१ भवगतीपुर टोलकी १७ वर्षीया रिंकु सदा माघ ३० गते आफ्नै घरको टिनको छानोमा पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। घटना रहस्यमय भएको भन्दै परिवार र स्थानीयले गहिरो छानबिनको माग गरेका थिए।
यस प्रकरणमा नयाँ तथ्य बाहिर आएको छ कि घटनाको केही दिनअघि रिंकुमाथि सामूहिक बलात्कार भएको थियो। स्थानीय तीन युवकले उनलाई बलात्कार गरेको आरोप लागेको छ, र घटना बाहिर नआओस् भनेर गाउँमै पञ्चायत गरी मिलाउने प्रयास भएको भनाइ छ। पीडित परिवारले पञ्चायतको दबाबका कारण रिंकुले आत्महत्या गरेको आशंका गरेका छन्।
रिंकुको मृत्युले गाउँमा तनाव उत्पन्न गरेको छ, र स्थानीय महिला तथा अधिकारकर्मीहरूले दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन्। मधेश प्रदेश प्रहरी कार्यालयले गम्भीरताका साथ घटनाको छानबिन गर्ने र दोषीलाई कानूनी कारबाहीको प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ।
यस घटनाले देशभरि महिला हिंसा र बलात्कारविरुद्ध कडा कानूनी कार्यान्वयनको मागलाई पुनः जागरुक बनाएको छ।




प्रतिक्रिया !