भारतमा मृत भेटिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको घटनामा सरकारको कूटनीतिक प्रयास

भारतमा मृत भेटिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको घटनामा सरकारको कूटनीतिक प्रयास

काठमाडौं, ५ फागुन —  भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युप्रकरणमा सरकारले कूटनीतिक तवरले छानबिन गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। सामाजिक सञ्जाल, संसद, र आम नागरिकबाट घटनामा छानबिनको माग भइरहेका बेला प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जालमार्फत सरकार यस विषयमा गम्भीर रहेको र कूटनीतिक च्यानलहरू प्रयोग गर्दै काम गरिरहेको जानकारी दिएका छन्।

 

प्रधानमन्त्री ओलीले लेखेका छन्, “केआईआईटी विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको घटनाबारे मिडिया र सामाजिक सञ्जालबाट जानकारी आएको छ। साथै, नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालिएको विषयमा सरकारले कूटनीतिक तवरले बुझ्दै छानबिनमा संलग्न भएको छ।”

 

यस घटनामा न्यायिक छानबिनको माग गर्दै अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन) ले सरकारलाई कूटनीतिक पहलमार्फत कदम चाल्न अपिल गरेको थियो।

 

प्रकृति लम्साल, जो बी-टेक तेस्रो वर्षकी विद्यार्थी थिइन्, भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयको होस्टेलमा मृत अवस्थामा भेटिएकी थिइन्। मृतककी परिवार र साथीहरूले घटनाको न्यायिक छानबिनको माग गर्दै प्रदर्शन गरेका थिए। तर, प्रदर्शनमा संलग्न नेपाली विद्यार्थीमाथि कलेज प्रशासनले दमन गर्दै उनीहरूलाई होस्टेलबाट बाहिर निकालेको खबर आएको छ।

 

सरकारले कूटनीतिक च्यानलहरूबाट यो मुद्दामा छानबिन गरिरहेको र प्रभावित नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि आवश्यक कदम चालिरहेको बताएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार