जनकपुरधाम, ५ फागुन — धनुषाको विदेह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दीपेन्द्र कुमार साहले ८३ कर्मचारीलाई बर्खास्त गरेका छन्। नगर प्रमुख र प्रशासकिय अधिकृत बीचको सम्बन्ध तनावपूर्ण भइरहेका बेला यो कदम उठाइएको हो।
बर्खास्त गरिएका कर्मचारीहरू नगर प्रहरी, डोर हाजिरी, र नयाँ नियुक्तिहरूसँग सम्बन्धित छन्। बर्खास्तीमा नगर प्रहरीका असईदेखि प्रहरीसम्मका १२ जना, नयाँ नियुक्त गरिएका १० जना, डोर हाजिरीमा रहेका ३५ जना, र करार सेवामा ६ महिना र १ वर्षका २० र ६ जना कर्मचारी परेका छन्। साथै, छैठौँ तहका स्थायी कर्मचारी दानी ठाकुर र स्टोरका कर्मचारी भुला यादवको पाँच वर्षका लागि ग्रेड वृद्धि रोक्का गर्ने सिफारिश पनि गरिएको छ।
नयाँ नियुक्ति गरिएका १० कर्मचारीहरूको बर्खास्तीबारे साहले परीक्षा अवजेक्टिभ प्रश्नपत्र बाहिरिएको गुनासोका कारण उनीहरूको नियुक्ति खारेज गरिएको बताए। करार सेवामा राखिएका कर्मचारीहरूको नियुक्ति कार्यविधि मिचेर गरिएको भन्दै उनको नियुक्ति खारेज गरिएको छ। यसैगरी, राज्यकोषको दुरुपयोग हुने गरी डोर हाजिरीमा कर्मचारी नियुक्त गरिएको भन्दै उनीहरूलाई पनि हटाइएको छ।
बर्खास्तीको यस निर्णयले नगरपालिकाको प्रशासनिक काममा अन्योल सिर्जना भएको छ भने प्रमुख प्रशासकिय अधिकृतको यो कदमले नगर प्रमुखसँगको विवादलाई थप चर्काउन सक्ने अनुमान गरिएको छ।



प्रतिक्रिया !