बाराको सुधार केन्द्रमा युवकको हत्या: संचालक पक्राउको मागसहित प्रदर्शन

बाराको सुधार केन्द्रमा युवकको हत्या: संचालक पक्राउको मागसहित प्रदर्शन

बारा, ४ फागुन –  बाराको कलैया उपमहानगरपालिका–९ स्थित सुधार केन्द्रमा कुटपिट गरेर हत्या गरिएका प्रदिप प्रसाद मण्डलका परिवारजन र स्थानीयवासीहरूले आइतबार व्यापक विरोध प्रदर्शन गरेका छन्। मृतक मण्डलका परिवार र स्थानीयले नवजन्म सुधार केन्द्रका संचालक साहेब मन्सुरलाई पक्राउ गरेर कानूनी कारवाहीको माग गर्दै विरोध प्रदर्शन गरेका हुन्।

 

विरोधमा सहभागीहरूले “संचालकलाई पक्राउ गर”, “पीडितलाई न्याय दे”, “दोषी हत्यारालाई फाँसी दे” र “थप सिसिटिभी फुटेज सार्वजनिक गर” जस्ता नारासहित बजार परिक्रमा गरेका थिए। प्रदर्शनपछि पीडित परिवारले जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्रमा परिवारले मण्डलको हत्या प्रकरणमा संचालक मन्सुरलाई पक्राउ गर्न र कानूनी छानबिन अघि बढाउन जोडदार माग गरेका छन्।

 

परिवारका अनुसार, प्रहरीद्वारा अन्य अभियुक्तलाई पक्राउ गरिए पनि मुख्य संचालक मन्सुर अझै पक्राउ परेका छैनन्। “हामीलाई न्याय चाहिन्छ, र मन्सुरलाई पनि छानबिनको दायरामा ल्याउनुपर्छ,” पीडित परिवारका एक सदस्यले भने।

 

बाराका एसपी सन्तोष तामाङले प्रहरीद्वारा सात जनालाई गिरफ्तार गरी अनुसन्धान जारी राखिएको जानकारी दिएका छन्। घटनामा संलग्न सबैलाई कानूनी कारवाही गरिनेछ भन्दै उनले सिसिटिभी फुटेजको आधारमा अनुसन्धानलाई तीव्रता दिइएको पनि स्पष्ट गरे। उनले संचालक मन्सुर घटनास्थलमा नभए पनि उनलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको बताएका छन्।

 

घटना गत बिहीबार राति कलैया–९, रामपुर निवासी प्रदिप प्रसाद मण्डलको सुधार केन्द्रभित्र कुटपिटबाट हत्या गरिएको थियो। हत्या आरोपमा सात जनालाई प्रहरीले गिरफ्तार गरेको छ। सांसद रामबाबु कुमार यादवले पनि पीडित परिवारसँग भेटघाट गर्दै दोषीलाई कानूनी दायरामा ल्याउन पहल गर्ने आश्वासन दिएका छन्। “दोषीलाई कानूनी कारवाही गरिनेछ र म सोमबार प्रशासनलाई ज्ञापनपत्र बुझाउनेछु,” उनले भने।

 

प्रदर्शन र ज्ञापनपत्र बुझाएपछि पीडित परिवारले न्याय प्राप्त गर्न संघर्ष जारी राख्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार