जनकपुरधाम, ३ फागुन — जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठास्थित तेलिया पोखरीमा भएको विवादले हिन्दु समाजलाई संघर्षको मार्गमा जान बाध्य बनाएको छ। हिन्दु समाज जनकपुरधामले मुस्लिम समुदायमाथि विगतको सहमति उल्लंघन गरेको आरोप लगाउँदै उक्त विवादका कारण समुदायबीच अशान्ति फैलिने सम्भावना देखाएको छ। समाजले समस्या समाधानका लागि तत्काल कदम नचालिए संघर्ष र आन्दोलन गर्ने चेतावनी दिएको छ।
हिन्दु समाजले २०७८ कात्तिक २९ गते तत्कालीन मेयर लालकिशोर साहको कार्यकालमा तेलिया पोखरी विवाद समाधानका लागि गरिएको सहमति उल्लंघन भएको दाबी गरेको छ। सहमति अनुसार कुनै पनि समुदायले उक्त स्थानमा धार्मिक चिन्ह, झण्डा वा टहरा निर्माण नगर्ने शर्तमा सम्झौता गरिएको थियो।
तर, मुस्लिम समुदायले सहमतिको उल्लंघन गर्दै पोखरीको उत्तर–पूर्व किनारमा भौतिक संरचना निर्माण गरेको र धार्मिक झण्डा राखेको आरोप हिन्दु समाजले लगाएको छ। समाजका अनुसार यस किसिमको सहमति तोडिएपछि उनीहरूले आगामी दिनमा संघर्ष गर्ने चेतावनी दिएका छन्।
समाजले क्षेत्रीय शान्ति भंग नहोस् भन्ने उद्देश्यका साथ गृह मन्त्रालय र मधेशी आयोगमा निवेदन पनि पठाएको छ। निवेदनमा मुस्लिम समुदायले बनाएका संरचनाहरू भत्काउन र राखिएका धार्मिक झण्डा तथा मुहर्रम कमिटीको बोर्ड हटाउन आग्रह गरिएको छ।
जनकपुरधाम उपमहानगरपालिकाले माघ ३० गते जिल्ला प्रशासन कार्यालय धनुषालाई पत्र पठाएर पोखरी क्षेत्रका टहरा हटाउन निर्देशन दिएको थियो। तर, स्थानीय बासिन्दाका अनुसार अहिलेसम्म ती संरचनाहरू यथास्थितिमा रहेका छन्।
यो विवादले क्षेत्रीय शान्ति र सामुदायिक सौहार्दमा गम्भीर असर पुर्याउन सक्ने भन्दै हिन्दु समाजले आफ्नो मागलाई बेवास्ता गरिए संघर्षमा जान बाध्य हुने चेतावनी दिएको छ। समुदायबीचको असमझदारीले जनकपुरधाममा थप तनावको वातावरण सिर्जना हुनसक्ने भन्दै उनीहरूले समस्या समाधानका लागि सम्बन्धित निकायको तत्काल पहल आवश्यक रहेको बताएका छन्।



प्रतिक्रिया !