काठमाडौं विश्वको दोस्रो प्रदूषित शहर, वायु प्रदूषणले जनजीवन प्रभावित

काठमाडौं विश्वको दोस्रो प्रदूषित शहर, वायु प्रदूषणले जनजीवन प्रभावित

काठमाडौं १ फाल्गुन  काठमाडौं विश्वको दोस्रो प्रदूषित शहर बनेको छ। वायु स्वच्छता मापन गर्ने संस्था आईक्यू एअरका अनुसार काठमाडौंको वायु प्रदूषण सूचकांक (एक्यूआई) यो समाचार तयार पार्दासम्म १९६ पुगेको छ। पाकिस्तानको कराची २१५ एक्यूआईसहित विश्वको सर्वाधिक प्रदूषित शहरको सूचीमा पहिलो स्थानमा रहेको छ।

 

नेपालभित्र पोखराको स्थिति पनि चिन्ताजनक छ। लगातार दोस्रो दिन पोखरा वायु प्रदूषणको सूचकांकमा देशकै शीर्ष स्थानमा रहेको छ। बिहान १०:३० बजे मापन गरिएको पोखराको एक्यूआई १९० पुगेको छ, जसलाई रेड जोनमा राखिएको छ। रेड जोनको अर्थ वायु प्रदूषण जनस्वास्थ्यका लागि अत्यन्तै हानिकारक छ। वातावरण विभागका अनुसार, ५० भन्दा माथिको एक्यूआईलाई अस्वस्थ मानिन्छ, र यसको असर विशेषगरी वृद्धवृद्धा, बालबालिका, र श्वासप्रश्वास सम्बन्धी समस्या भएका व्यक्तिमा गम्भीर हुन सक्छ।

 

काठमाडौं उपत्यकामा पनि वायु प्रदूषण गम्भीर छ। शंखपार्क क्षेत्र १८२ एक्यूआईसहित देशकै दोस्रो प्रदूषित क्षेत्र हो भने भरतपुरको एक्यूआई पनि १८२ मा पुगेको छ। भक्तपुरको वायु प्रदूषण १६९, धनगढीको १६७, र काठमाडौंको रत्नपार्क क्षेत्रमा १६३ एक्यूआई मापन गरिएको छ। अन्य शहरहरूमा हेटौंडा र खुमल्टारमा पनि वायु प्रदूषण १५९ एक्यूआई रहेको छ।

 

वायु प्रदूषणको उच्च स्तरले जनजीवनमा गम्भीर असर पार्न थालेको छ। बिहानैदेखि प्रदूषणको मात्रा बढी हुँदा काठमाडौं, पोखरा लगायतका शहरमा दैनिक कामकाजमा अवरोध आएको छ। विशेषगरी, वृद्धवृद्धा, बालबालिका, र श्वासप्रश्वास रोगीहरूले स्वास्थ्य समस्याहरू झेल्न थालेका छन्। स्वास्थ्य विशेषज्ञहरूले यस्तो अवस्थामा मास्कको प्रयोग र अनावश्यक बाहिरी गतिविधिबाट जोगिन सुझाव दिएका छन्।

 

वातावरण विशेषज्ञहरूले काठमाडौंको बढ्दो वायु प्रदूषणलाई चिन्ताजनक भनेका छन्। प्रदूषणको यस्तो स्तर लामो समयसम्म रहिरहेमा यसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने चेतावनी दिइएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार