जनकपुरधाम, १ फाल्गुन । धनुषाधामदेखि सबैलाको इनर्वा हँसपुर नगरपालिकाको सुगानिकाससम्मको सडक कालोपत्रे हुने योजना बिहीबार राष्ट्रियसभा सदस्य आनन्द ढुङ्गानाले औपचारिक रूपमा उद्घाटन गरेका छन्। सडक निर्माण संघीय सरकारको सहरी विकास मन्त्रालयको लगानीमा हुन लागेको हो।
यो सडक निर्माण महोत्तरी इन्जिनियरिङ–रियान्स जेभीले ठेक्का पाएको छ, जसका लागि १ करोड ४६ लाख ६३ हजार ९३८ रुपैयाँको बजेट विनियोजित गरिएको छ। सहरी डिभिजन कार्यालय, धनुषाका प्रमुख डिभिजनल इन्जिनियर विनोद यादवले जानकारी दिएअनुसार, मूल्य अभिवृद्धि करबाहेक उक्त रकम निर्माणका लागि सुनिश्चित गरिएको छ।
धनुषाधामदेखि हंसपुर नगरपालिकासम्मको यस सडकको कालोपत्रे भएपछि स्थानीय जनतालाई यातायातमा ठूलो सुविधा पुग्ने अपेक्षा गरिएको छ। नगर प्रमुख वालेश्वर मण्डलले लामो समयदेखि पर्खाइमा रहेको यस सडकले आवतजावतलाई सहज बनाउँदै स्थानीयहरूको दैनिक जीवनमा ठूलो सकारात्मक प्रभाव पार्ने बताएका छन्।
सडकको स्तरोन्नतिले कृषिजन्य उत्पादनको व्यापार र यातायातलाई पनि थप सुगम बनाउने अपेक्षा गरिएको छ। यसले यस क्षेत्रका व्यवसायी र किसानहरूको आयस्तर सुधार गर्न मद्दत गर्ने अनुमान गरिएको छ। सिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य संजय महतो, हंसपुर नगर प्रमुख प्रदिप यादव, गणेशमान चारनाथ नगर प्रमुख जीतनारायण यादव लगायतका स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
राष्ट्रियसभा सदस्य ढुङ्गानाले निर्धारित समयसीमाभित्र गुणस्तरीय सडक निर्माण सम्पन्न गर्न ठेकेदारलाई आह्वान गरेका छन्। उनले निर्माण व्यवसायीलाई दत्तचित्त भएर काममा लाग्न आग्रह गर्दै डिभिजनल कार्यालयलाई नियमित रूपमा सुपरिवेक्षण गर्न र कामको गुणस्तर सुनिश्चित गर्न निर्देशन दिए।
योजनाबद्ध रूपमा काम गरिने हो भने यस सडकले आर्थिक तथा सामाजिक विकासमा उल्लेख्य भूमिका खेल्ने विश्वास गरिएको छ।




प्रतिक्रिया !