पूर्वमुख्यमन्त्री सरोजकुमार यादवद्वारा निधि निवास र गढीमाई मेला बजेटमा भ्रष्टाचारको आरोप

पूर्वमुख्यमन्त्री सरोजकुमार यादवद्वारा निधि निवास र गढीमाई मेला बजेटमा भ्रष्टाचारको आरोप

जनकपुरधाम , ३० माघ । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री र जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादवले निधि निवास र गढीमाई मेलाका लागि विनियोजित बजेटमा भ्रष्टाचार भएको आरोप लगाएका छन्। प्रदेशसभा बैठकमा यादवले आफ्नै कार्यकालमा बारामा निधि निवास र गढीमाई मेलाका लागि छुट्ट्याइएको बजेटमा भ्रष्टाचार भएको दाबी गरे। बारा जिल्ला उनको गृहजिल्ला हो, जसलाई आधार बनाएर उनले भ्रष्टाचारको आरोप सार्वजनिक गरे।

 

यादवले आफ्नो मुख्यमन्त्री कार्यकालमा निधि निवासका लागि १९ करोड र गढीमाई मेला अगावै सडक निर्माण तथा मर्मतका लागि २१ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए। उनले दुवै योजनामा व्यापक भ्रष्टाचार भएको भन्दै छानबिनको माग गरे। “म मुख्यमन्त्री हुँदा नै म बारामा भएका यी योजनाहरूमा भ्रष्टाचार भएको थाहा पाएर छानबिनको माग गरेको थिएँ। आज फेरि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,” यादवले भने।

 

पूर्वमुख्यमन्त्री यादवले बजेटमा कर्मचारीहरूले भ्रष्टाचार गरेको ठहर गरेका छन्। उनले भने, “मैले सरकारलाई भ्रष्टाचार गरेको भनेको छैन, यदि मैले नै भ्रष्टाचार गरेको हो भने छानबिन गरौं। मेरो कार्यकालमा निधि निवास र गढीमाई मेलाका लागि पठाइएको बजेटको गलत सदुपयोग भएको छ।”

 

गढीमाई मेलाका लागि सडक निर्माण तथा मर्मतसम्बन्धी योजना १०–१० लाखका टुक्रे योजनाहरूमा खर्च गरेको र त्यसमा व्यापक भ्रष्टाचार भएको यादवको दाबी छ। निधि निवास निर्माणका लागि थप रकम पठाउन नपर्ने भन्दै अर्थ मन्त्रालयलाई पत्र लेखे पनि, १० करोड थप पठाइएको उनको भनाइ छ। यसले योजना कार्यान्वयनमा रहेका अनियमितताहरूलाई उजागर गरेको उनले बताए।

 

यादवले निधि निवासका लागि केवल ४५० घरको सम्झौता गर्न निर्देशन दिएको भए पनि, कर्मचारीहरूले १ हजार ६०० घरको सम्झौता गरी पैसा खाएको आरोप लगाए। भौतिक पूर्वाधार कार्यालयका प्रमुख राजेन्द्र साहले यी अनियमितताहरूमा मुख्य भूमिका खेलेको भन्दै, उनीमाथि कारबाहीको माग पनि गरे। यादवले भौतिक पूर्वाधार मन्त्रीसँग आग्रह गर्दै साहलाई मन्त्रालय तान्न भने।

 

यादवले प्रदेशको बजेट र योजनाहरूको दुरुपयोगप्रति चिन्ता व्यक्त गर्दै प्रत्यक्ष बजेट ५ करोड र डेढ करोड समानुपातिक सांसदहरूको बजेट उपभोक्ताबाट हुने सुनेको बताए। तर, बाँकी बजेटको सदुपयोगबारे प्रश्न उठाउँदै उनले त्यहाँ भएका कुनै पनि योजनामा भ्रष्टाचार भयो भने त्यसको गम्भीर परिणाम हुने चेतावनी दिए।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार