मधेश प्रदेशको जनकपुरधाममा चलचित्र विकास बोर्डद्वारा विशेष चलचित्र शिविर आयोजना

मधेश प्रदेशको जनकपुरधाममा चलचित्र विकास बोर्डद्वारा विशेष चलचित्र शिविर आयोजना

 सुनिल कुमार साह ,

 लोक आवाज , काठमाडौं, २९ माघ ।  चलचित्र विकास बोर्डले मधेश प्रदेशको राजधानी जनकपुरधाममा आगामी फागुन १३, १४ र १५ गते विशेष चलचित्र शिविर आयोजना गर्ने घोषणा गरेको छ। यस शिविरको प्रमुख उद्देश्य मधेशमा चलचित्रप्रतिको अभिरुचि र चेतना जागृत गर्दै, त्यहाँको चलचित्र बजारलाई विस्तार र सुदृढ बनाउनु रहेको बोर्डले जानकारी दिएको छ।

 

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार, यस कार्यक्रमले नेपाली तथा मातृभाषा चलचित्रहरूको अवस्था, बजार र दर्शकहरूको रुचिको अध्ययन गर्दै मधेशमा चलचित्र क्षेत्रको प्रवद्र्धन गर्नेछ। यसका साथै, मधेशका युवा चलचित्रकर्मीहरूलाई चलचित्र नीति र विधिबारे अभिमुखीकरण गराउनु, मौलिक कथाहरूको खोजी र चलचित्रसँग सम्बन्धित विभिन्न विषयहरूमा बहस तथा विमर्श गर्न पनि यो शिविर आयोजना गरिएको हो।

 

अध्यक्ष डिसीले चलचित्र शिविरलाई नेपाली चलचित्र उद्योगमा दूरगामी प्रभाव पार्ने एक विशेष अभियानको रूपमा व्याख्या गर्दै भने, “यो चलचित्रमार्फत देश जोड्ने महत्त्वपूर्ण सेतु हो। समभावको संस्कृति विकास गर्दै सामाजिक–सांस्कृतिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई सबल बनाउन यसले मद्दत पुर्याउनेछ।”

 

उहाँका अनुसार, चलचित्र शिविर सामाजिक एकीकरणको प्रयास पनि हो। यसले समभावको व्यवहार र सांस्कृतिक विविधतालाई प्रोत्साहित गर्नेछ र मधेशका नागरिकहरूमा आपसी समझदारी र एकता कायम राख्ने उद्देश्य पनि राखेको छ।

 

चलचित्र शिविर अन्तर्गत विभिन्न कार्यक्रमहरू आयोजना गरिनेछन्, जसमा चलचित्र प्रदर्शन, पोष्टर र फोटो प्रदर्शनी, परामर्श सेवा, कार्यशाला, चलचित्र सम्बन्धी अभिमुखीकरण, अन्तरक्रिया, संवाद, संगोष्ठी र चलचित्र सम्मेलन जस्ता गतिविधिहरू समावेश हुनेछन्। बोर्डले यस कार्यक्रमको संयोजकको रूपमा बोर्ड सदस्य केएल बुढाथोकीलाई जिम्मेवारी तोकेको छ।

 

संयोजक बुढाथोकीले भने, “यो शिविर मधेसी समाजका मौलिक तथा उत्कृष्ट कथाहरूलाई चलचित्रको माध्यमबाट उजागर गर्ने अवसर प्रदान गर्नेछ। चलचित्रकर्मीहरूले यस अवसरमा आफ्नो सृजनशीलता र क्षमताको विकास गर्न सक्नेछन्।”

 

यस शिविरमार्फत मधेश क्षेत्रको चलचित्र बजारलाई नयाँ दिशा दिने प्रयास गरिएको छ, जसले यहाँका चलचित्रकर्मीहरूलाई प्रोत्साहित गर्ने र राष्ट्रिय स्तरमा मधेशको सांस्कृतिक पहिचानलाई उजागर गर्नेछ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार