केपी ओलीको नेतृत्वमा कम्युनिष्ट एकता असम्भव: प्रचण्डको स्पष्ट संकेत

केपी ओलीको नेतृत्वमा कम्युनिष्ट एकता असम्भव: प्रचण्डको स्पष्ट संकेत

जनकपुरधाम, २८ माघ  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेको नेतृत्वमा केपी ओली रहेको अवस्थामा कम्युनिष्ट पार्टीहरूबीच एकता असम्भव रहेको स्पष्ट पारेका छन्। सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले चुनावमा एमालेसँग मिलेर लड्दा जनताको समर्थन रहेको भए पनि ओलीको नेतृत्वले कम्युनिष्ट एकतामा बाधा पुर्याएको बताए।

 

प्रचण्डले भने, ‘चुनाव सँगै मिलेर लडेकै हो र जनताले पनि साथ दिएको हो, तर केपीजीको नेतृत्व रहुन्जेल नेपालमा कम्युनिष्ट एकता सम्भव छैन।’ यसै क्रममा उनले माओवादी केन्द्रले जनताको बीचमा पुनः आफ्नो पकड बलियो बनाउन प्रयास गरिरहेको र पार्टी विस्तार अभियानमा रहेको बताए।

 

उनका अनुसार, पछिल्लो समय पार्टीको संस्कृति अलि कमजोर भएको र कांग्रेससँग मिल्दा केही प्रभाव परे पनि अब माओवादी केन्द्र पुनः जनताको बीचमा फर्कने योजना बनाउँदै छ। ‘अब हामी फेरी नुहाइधुवाइ गरेर जनतासँग जानुपर्छ,’ प्रचण्डले भने।

 

सरकारको कार्यप्रणालीप्रति आलोचना गर्दै प्रचण्डले वर्तमान सरकारको दुई तिहाई बहुमतको दाबीलाई अस्वीकार गरे। ‘दुई तिहाई बहुमत भएको सरकारले अध्यादेशको बाटो रोज्नै हुँदैन,’ उनले भने, ‘छ दिनपछि संसद् बोलाउने तयारी हुँदाहुँदै पनि अध्यादेश ल्याउनु सरकारको कमजोरीको प्रमाण हो।’ प्रचण्डले सरकारले जनताको पक्षमा काम गर्न नसकेको र सुशासनको पक्षमा कुनै पहल नगरेको आरोप लगाए।

 

प्रचण्डले संविधानको धारा ७६ को २ अनुसार विश्वासको मत लिन नसकेपछि धारा ७६ को ३ प्रयोग गरेर ठूलो दलको सरकार बन्नुपर्नेमा अहिलेको सरकार असंवैधानिक ढंगले बनेको बताए। उनका अनुसार, लोकतन्त्रमा पहिलो र दोस्रो दलको मिलेर सरकार बनाउने चलन सामान्यतया हुँदैन। प्रचण्डले भने, ‘नेपालमा भने लोकतन्त्रको विपरीत ठूलो दलका नाममा सरकार गठन भएको छ।’

 

भारतको सन्दर्भमा कुरा गर्दै प्रचण्डले नेपालमा लोकतान्त्रिक मूल्यहरू मिचिएको र यो प्रक्रिया गलत रहेको बताए। उनले यो सरकार जनताको हितमा काम गर्न बनेको नभएर सत्ता प्राप्तिका लागि मात्र बनेको आरोप लगाउँदै माओवादी केन्द्रले अब जनताका पक्षमा सशक्त कदम चाल्ने बताए।

 

प्रचण्डले सरकारको कमजोरीलाई चिर्दै, जनतासँग सशक्त रूपमा जाने आफ्नो योजना स्पष्ट पारेका छन्। माओवादी केन्द्रको प्रमुख प्राथमिकता जनताको अधिकार र लोकतन्त्रको रक्षामा अडिग रहनु रहेको उनले बताए।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार