मधेशमा अस्पतालहरूको छडके अनुगमनको प्रतिकार: जनकपुरधाममा ‘प्राइभेट हस्पिटल एशोसिएसन’ गठन

मधेशमा अस्पतालहरूको छडके अनुगमनको प्रतिकार: जनकपुरधाममा ‘प्राइभेट हस्पिटल एशोसिएसन’ गठन

जनकपुरधाम, २८ माघ ।  मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहद्वारा सुरु गरिएको नक्कली र अवैध अस्पतालहरूको छडके अनुगमन र बन्द अभियानको प्रतिक्रियास्वरूप जनकपुरधामका अस्पताल सञ्चालकहरूले ‘प्राइभेट हस्पिटल एशोसिएसन जनकपुरधाम’ नामक संगठन गठन गरेका छन्।

 

मुख्यमन्त्री सिंहले प्रदेशभरि छरिएका अवैध र अनधिकृत अस्पतालहरू विरुद्ध कडा कदम चाल्दै अस्पतालहरूको अनुगमन गर्न थालेपछि अस्पताल सञ्चालकहरूले यस अभियानलाई नियोजित भन्दै विरोध जनाएका छन्। अनुगमनका क्रममा केही अस्पतालहरूमा अनियमितता भेटिएपछि उनीहरूले यसलाई बदनाम गर्ने प्रयासको रूपमा व्याख्या गरेका छन्।

 

संगठनको अध्यक्षमा डा. सरोज कुमार ठाकुर चयन भएका छन् भने अन्य पदाधिकारीहरूमा राम भरोस महतो (उपाध्यक्ष), आविद हुसेन (सचिव), संजय मण्डल (कोषाध्यक्ष) र डा. शुभाषचन्द्र यादव (सहसचिव) छन्। २५ सदस्यीय समिति गठन गर्दै एशोसिएसनले अस्पताल सञ्चालकहरूको अधिकारको रक्षाका लागि रणनीतिक कार्यक्रमहरू ल्याउने घोषणा गरेको छ।

 

मुख्यमन्त्री सिंहले व्यक्तिगत रूपमा अनुगमनमा सक्रिय भएर उपस्थित हुनु र अस्पतालहरूलाई अनावश्यक तनाव दिइरहेको आरोप लगाउँदै एशोसिएसनले यसलाई राजनीतिक चालको रूपमा चित्रित गरेको छ। अध्यक्ष डा. ठाकुरका अनुसार, ‘मुख्यमन्त्रीको अभियान अवैध अस्पतालहरूको जाँचमा केन्द्रित छैन, बरु प्रतिष्ठित अस्पतालहरूलाई बदनाम गर्ने प्रयास हो। हामीले कुनै पनि अवैध काम गरेका छैनौं, तर सरकारको दबाबले हामीलाई अनावश्यक तनाव दिइएको छ।’

 

संगठनले मुख्यमन्त्रीविरुद्ध प्रतिरोधका विभिन्न चरणबद्ध कार्यक्रमहरू अगाडि सार्दै संवादको प्राथमिकता दिएर संघर्ष गर्ने योजना बनाएको छ।

 

अस्पताल सञ्चालकहरूले ज्ञापनपत्र बुझाएर आफ्ना गुनासाहरू राख्ने, पत्रकार सम्मेलन गरी वास्तविकता बाहिर ल्याउने, र सरकारद्वारा लगाइएका आरोपहरूको खण्डन गर्ने निर्णय गरेका छन्। त्यसैगरी, आपतकालीन सेवाबाहेकका अन्य सेवाहरू ठप्प पार्ने तयारी गरिरहेको बताइएको छ।

 

अस्पताल सञ्चालकहरूका अनुसार उनीहरूले कानूनी रूपमा सञ्चालन भइरहेका अस्पतालहरूको मानहानि गर्न खोजिएको भन्दै त्यसको प्रतिकार गर्न तयार छन्। ‘हाम्रो पहिलो प्राथमिकता संवाद र समाधान हो,’ डा. ठाकुरले भने, ‘तर सरकारले हामीलाई बेवास्ता गरिराखेमा हामी कडा संघर्षको बाटो रोज्न बाध्य हुनेछौं।’

 

मुख्यमन्त्री सिंहको यो अभियानले स्वास्थ्य क्षेत्रमा शुद्धिकरण ल्याउने उद्देश्य राखे पनि अस्पताल सञ्चालकहरूले यसलाई राजनीति प्रेरित भन्दै प्रतिरोध गर्ने घोषणा गरेका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार