लोक आवाज , चितवन, २४ माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनलाई देशको परिवर्तनको प्रमुख स्रोतका रूपमा उल्लेख गर्दै यहाँबाट न्याय र परिवर्तन जन्मिने विश्वास व्यक्त गरेका छन्। बिहीबार चितवन जिल्ला अदालतबाट ५४ लाख रुपैयाँ धरौटीमा रिहा भएका लामिछानेले संक्षिप्त प्रतिक्रिया दिँदै चितवनलाई देवभूमि र विशेष धार्मिक महत्त्वको क्षेत्रको रूपमा प्रस्तुत गरे।
लामिछानेले भने, “हाम्रो चितवन देवभूमि हो। देवता बस्ने ठाउँ हो। यहाँ देवताजस्ता मान्छे बस्छन् र यसले देशलाई न्याय दिन्छ भन्ने कुरा म विश्वस्त छु।” उनले चितवनको धार्मिक महत्त्वलाई थप स्पष्ट गर्दै भने, “देवघाटमा स्नान गर्नु भनेको कुम्भमेलामा सयौं पटक स्नान गर्नु बराबर हो। यो ठाउँको महत्त्व अत्यन्त गहिरो छ।”
सभापति लामिछानेले अघिल्लो निर्वाचनमा चितवनले परिवर्तनको सुरुवात गरेको दाबी गर्दै भने, “चितवनले व्यक्ति होइन, देशमा परिवर्तन चाहियो भनेर मत दिएको हो। यो परिवर्तन देशव्यापी हुनेछ र परिवर्तन जन्मनु बेलाको पीडा हो। तर, परिवर्तन जन्मिएरै छाड्छ।”
चिन्तनशील प्रतिक्रियामा लामिछानेले चितवनको महत्त्वलाई राष्ट्रिय स्तरमा उजागर गरेका छन्, र उनले आगामी दिनमा यस क्षेत्रबाट न्याय र परिवर्तनको ठूलो लहर आउने विश्वास व्यक्त गरेका छन्।




प्रतिक्रिया !