रौतहटमा मूर्ति विसर्जनका क्रममा युवकको डुबेर मृत्यु

रौतहटमा मूर्ति विसर्जनका क्रममा युवकको डुबेर मृत्यु

रौतहट २३ माघ ।  सरस्वती पूजा पछि मूर्ति विसर्जन गर्न गएका एक युवक बागमती नदीमा डुबेर मृत अवस्थामा फेला परेका छन्। राजदेवी नगरपालिका वडा नम्बर ६ स्थित बागमती नदीमा मूर्ति विसर्जन गर्ने क्रममा डुबेका २२ वर्षीय सुरज यादवको शव १४ घन्टापछि फेला परेको हो।

 

मंगलबार साँझ करिब ६:४५ बजे मूर्ति विसर्जन गर्न गएका यादव नदीमा डुबेर बेपत्ता भएका थिए। परिवारले रातभर खोजी गरेपछि प्रहरीलाई खबर गरिएको थियो।

 

सशस्त्र प्रहरी बल, नेपाली सेना, र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी गर्दै जाँदा बुधबार बिहान करिब १०:१५ बजे सुरजको शव विसर्जन गरिएको स्थानबाट १०० मिटर दक्षिणमा बागमती नदीमै फेला परेको सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईंले जानकारी दिए।

 

मृतक सुरज यादव राजदेवी नगरपालिका वडा नम्बर ७, मुडवलवाका स्थायी बासिन्दा हुन्। उनी स्थानिय प्राथमिक विद्यालय मुडवलवाका प्रधानाध्यापक उमेश यादवका छोरा थिए। शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार