जनकपुरधाम , २३ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्तिलाई नियन्त्रण गर्न सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको बताएका छन्। नेपाल टेलिकमद्वारा आयोजित कार्यक्रममा उनले सामाजिक सञ्जालमा अराजकता बढेको भन्दै आम नागरिककै माग अनुसार यसको नियमन आवश्यक भएको बताए।
मन्त्री गुरुङले लोकतन्त्रको नाममा सामाजिक सञ्जालमा मनपरी लेख्न पाउने अधिकार नभएको र यसलाई नियमन गर्न विधेयक संसदमा पेस गरिएको जानकारी गराए। उनले सामाजिक सद्भाव र राष्ट्रिय एकता भत्काउने क्रियाकलापलाई देशद्रोह मानिने र त्यसका लागि दण्ड सजायको प्रावधान राखिएको बताए।
उनले सरकार जनताको अभिव्यक्ति स्वतन्त्रता र सूसुचित हुने अधिकारको प्रत्याभूति गर्न गम्भीर रहेको उल्लेख गर्दै, साइबर क्राइमका घटनाहरू बढेकाले त्यसलाई नियन्त्रण गर्न साइबर क्राइम ऐनको मस्यौदा पनि तयार भइसकेको जानकारी दिए।
सामाजिक सञ्जाल नियमनका लागि दर्ता अनिवार्य गरिने र दर्ता नगरेका प्लेटफर्महरूलाई प्रतिबन्ध लगाइने चेतावनी पनि उनले दिए।




प्रतिक्रिया !