चुरोट र सुर्तीजन्य पदार्थको प्याकेटमा अब १००% चेतावनी चित्र र सन्देश अनिवार्य: स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका लागू

चुरोट र सुर्तीजन्य पदार्थको प्याकेटमा अब १००% चेतावनी चित्र र सन्देश अनिवार्य: स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका लागू

काठमाडौं, २३ माघ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, ¥यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका, २०८१’ पारित गरेको छ। नयाँ निर्देशिकाले चुरोट र अन्य सुर्तीजन्य पदार्थका प्याकेटमा अब शत प्रतिशत चेतावनी सन्देश र घातक चित्र अनिवार्य गरिएको छ। यस निर्णयले नागरिकको स्वास्थ्य र सुर्तीजन्य पदार्थको प्रयोगलाई सीमित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

 

निर्देशिकाअनुसार अब चुरोट र अन्य सुर्तीजन्य पदार्थका प्याकेट तथा बट्टाको मुख्य भागमा अगाडि र पछाडिको शत प्रतिशत भागमा रंगीन घातक चित्र र चेतावनीमूलक सन्देश स्पष्ट रूपमा देखिने गरी राख्नुपर्नेछ। यसअघि ९० प्रतिशत भागमा चेतावनी सन्देश राख्नुपर्ने प्रावधान थियो, जसलाई संशोधन गर्दै हालको निर्देशनामा शत प्रतिशत चेतावनी अनिवार्य गरिएको छ।

 

स्वास्थ्य मन्त्री प्रदी पौडेलले यो नयाँ निर्देशिका पारित गरेका छन्। उनले भने, ‘चुरोट र सुर्तीजन्य पदार्थको प्रयोग घटाएर नागरिकको जीवनरक्षा गर्न यस्तो निर्णय गरेका हौं।’ उनको भनाइअनुसार यो निर्णयले क्यान्सर लगायतका रोगहरूको रोकथाममा सहयोग पुर्याउनेछ। उनले थपे, ‘क्यान्सरको उपचार मात्र होइन, रोकथामका उपायहरूको खोजी हाम्रो प्राथमिकता हो।’

 

विश्वव्यापी अध्ययनहरूले पनि चेतावनी चित्र र सन्देशको प्रभावकारीता पुष्टि गरेका छन्, जसले सुर्तीजन्य पदार्थको प्रयोगमा कमी ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ। नेपालमा हरेक वर्ष ३७ हजारभन्दा बढी मानिसहरूले सुर्तीजन्य पदार्थको सेवनका कारण ज्यान गुमाउने गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ।

 

यसअघि ७५ प्रतिशतदेखि ९० प्रतिशत चेतावनी सन्देश राख्ने व्यवस्था गर्दा नेपालले ब्लुमबर्ग अवार्ड प्राप्त गरेको थियो। तर नयाँ निर्देशिकामा चुरोटका बट्टा र प्याकेटमा ८० प्रतिशत भागमा खतराका चित्र र २० प्रतिशत भागमा चेतावनी सन्देश राख्नुपर्ने प्रावधान गरिएको छ। त्यस्तै, बिँडी र अन्य सुर्तीजन्य पदार्थका प्याकेटमा पनि यस्तै अनुपातमा चेतावनी चित्र र सन्देश राख्नुपर्ने प्रावधान समावेश गरिएको छ।

 

निर्देशिकाले सुर्तीजन्य पदार्थको प्रचार-प्रसारलाई पूर्ण रूपमा निषेध गरेको छ। साथै, उत्पादकहरूले अबका ६ महिनाभित्र पुराना प्याकेट र प्याकेजिङ प्रणाली हटाएर नयाँ १०० प्रतिशत चेतावनीयुक्त प्याकेजिङ प्रयोग गर्नुपर्नेछ। यो निर्देशिका १८० दिनपछि पूर्ण रूपमा लागू हुनेछ।

 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले यो सुधारले नेपालमा चुरोट र सुर्तीजन्य पदार्थको प्रयोगमा कमी ल्याउने र क्यान्सर तथा अन्य घातक रोगहरूको दर घटाउने अपेक्षा गरिएको बताएका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार