काठमाडौं, २२ माघ । नेकपा माओवादी केन्द्रले पार्टी संगठनलाई थप सशक्त बनाउने उद्देश्यसहित प्रदेश र विशेष क्षेत्रहरूको जिम्मेवारी बाँडफाँट गर्दै नयाँ इन्चार्जहरूको नाम सार्वजनिक गरेको छ। पार्टी पदाधिकारी बैठकको निर्णयअनुसार विभिन्न प्रदेशमा नयाँ नेतृत्वको जिम्मेवारी तोकिएको हो।
पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले दिएको जानकारी अनुसार, कोशी प्रदेशको इन्चार्ज उपमहासचिव हरिबोल गजुरेललाई जिम्मा दिइएको छ भने मधेश प्रदेशमा उपमहासचिव मातृका यादवले इन्चार्जको जिम्मेवारी पाएका छन्।
त्यस्तै, बागमती प्रदेशमा सचिव हितमान शाक्य, गण्डकी प्रदेशमा सचिव दिनानाथ शर्मा, लुम्बिनी प्रदेशमा सचिव चक्रपाणी खनाल, कर्णाली प्रदेशमा स्थायी कमिटी सदस्य कालीबहादुर मल्ल, र सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराजमणि पोखरेललाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ।
माओवादी केन्द्रले विशेष क्षेत्रहरूको इन्चार्ज पनि तोकेको छ। विशेष प्रदेशको इन्चार्जमा जयपुरी घर्तीलाई जिम्मेवारी दिइएको छ भने सार्क क्षेत्रको इन्चार्ज लक्ष्मण पन्तलाई तोकिएको छ। त्यस्तै, यूरोप–अमेरिकाको इन्चार्जको जिम्मेवारी राम कार्कीलाई दिइएको छ भने एसिया क्षेत्रको इन्चार्ज ओम शर्मा रहने भएका छन्।
यसअघि उपाध्यक्ष अग्नि सापकोटा बागमती प्रदेशको इन्चार्ज थिए भने युरोप–अमेरिका क्षेत्रको इन्चार्ज पम्फा भुसाल थिइन्। पार्टीले महासचिवभन्दा माथिका पदाधिकारीहरूलाई भूगोलको जिम्मेवारी नदिने नीति अवलम्बन गर्दै यस निर्णयलाई अघि बढाएको प्रवक्ता सापकोटाले बताएका छन्।
यस निर्णयसँगै माओवादी केन्द्रले प्रदेश तथा विशेष क्षेत्रहरूमा नयाँ नेतृत्वको जिम्मेवारी सुम्पिदै पार्टी संगठनलाई थप सशक्त बनाउने संकेत दिएको छ। पार्टीले विभिन्न क्षेत्रमा नयाँ इन्चार्जहरूलाई जिम्मा दिएर संगठन विस्तार र सुदृढीकरणमा नयाँ कदम चालेको हो।




प्रतिक्रिया !