जनकपुरधाम, २० माघ । मधेश प्रदेशमा ३ लाख ६९ हजार १ सय २४ किशोरीलाई पाठेघरको क्यान्सर (सर्भाइकल क्यान्सर) को जोखिमबाट जोगाउन एचपीभी (ह्यूमन प्यापिलोमाभाइरस) खोप दिने अभियानको तयारी गरिएको छ। यो खोप अभियान माघ २२ गतेदेखि शुरु हुने भएको हो, जसअन्तर्गत प्रदेशभरका १० देखि १४ वर्ष उमेर समूहका बालिकाहरूसम्म पुग्ने छ।
प्रदेशका ३ हजार ३ सय २५ विद्यालयका विद्यार्थी र विद्यालय बाहिर रहेका बालिकाहरुलाई लक्षित गर्दै स्वास्थ्य निर्देशनालयले यो अभियान सञ्चालन गर्ने बताइएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक श्रवण नायकका अनुसार खोप र अन्य आवश्यक सामग्री प्रदेशका सबै जिल्लामा पठाइसकिएको छ। उनले खोप कार्यक्रमको सफलताका लागि अभिभावक र शिक्षकहरूको सहकार्य महत्त्वपूर्ण रहेको बताएका छन्।
नायकले खोप अभियानको तयारी पूरा भएको जानकारी दिँदै बालिकाहरुलाई खोप लिन विद्यालय वा नजिकको स्वास्थ्य चौकीमा जान आग्रह गरेका छन्। साथै, अभिभावक र शिक्षकहरूलाई बालिकालाई खोप लगाउन प्रोत्साहित गर्नका लागि अभिमुखीकरण गरिसकेको पनि बताएका छन्।
सर्भाइकल क्यान्सर नेपालमा महिलामा हुने प्रमुख क्यान्सर मध्ये एक हो र यो खोप त्यसबाट बच्नका लागि अत्यन्त प्रभावकारी मानिन्छ। यो अभियानले मधेश प्रदेशका हजारौं किशोरीलाई क्यान्सरको जोखिमबाट जोगाउने अपेक्षा गरिएको छ। सरकारले भविष्यमा यो खोप कार्यक्रमलाई देशभर विस्तार गर्ने योजना बनाएको छ।




प्रतिक्रिया !