सर्लाही, माघ १८ – सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–७ स्थित ब्रह्मस्थानमा रहेको हिमालयन पोली नेपाल नामक प्लास्टिक झोला उद्योगमा माघ १८ गते भीषण आगलागी भएको छ। प्रारम्भिक अनुसन्धानअनुसार आगलागीको कारण विद्युत् सर्ट रहेको बताइएको छ।
आगलागीबाट उद्योग पूर्ण रूपमा नष्ट भएको छ भने उद्योगसँगै रहेको घरधनी नेत्रबहादुर कार्कीको घर पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। छिमेकी नवलकिशोर साहको घरमा आंशिक क्षति पुगेको छ। उद्योग सञ्चालन गरिरहेका रामछविला साहले कार्कीको घर भाडामा लिएर प्लास्टिक झोला उत्पादन गर्दै आएका थिए। आगलागीले उद्योगका सम्पूर्ण उपकरण, तयारी सामग्री, र कच्चा पदार्थहरू नष्ट भएको छ। प्रारम्भिक अनुमानअनुसार ७ करोड ५० लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ।
आगलागीलाई स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, र हरिवन तथा मलङ्गवा नगरपालिकाका वारुणयन्त्रहरूको सहयोगमा करिब साढे दुई घण्टापछि नियन्त्रणमा ल्याइएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।




प्रतिक्रिया !