लोक आवाज , जनकपुरधाम १७ माघ – जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय नेता प्रमोद साहले पार्टी परित्यागको घोषणा गरेका छन्। उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको कुरा सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।
प्रतिनिधिसभाका पूर्व सदस्यसमेत रहेका साहले आफ्नो पार्टी परित्यागको निर्णय प्रेस विज्ञप्तिमार्फत जानकारी गराएका छन्। साह जसपाको केन्द्रीय सदस्य, संगठन विभाग, र साधारण सदस्य पदसमेत छोड्ने निर्णयमा पुगेका हुन्। विज्ञप्तिमा साहले पार्टी नेतृत्वले आफू र सर्लाही जिल्लाबाट प्रतिनिधित्व गर्ने नेताहरूलाई बेवास्ता गरेको आरोप लगाएका छन्।
२०७४ सालमा प्रमोद साह सर्लाही–१ बाट प्रतिनिधिसभामा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)को तर्फबाट निर्वाचित भएका थिए। राजपा र जसपाको एकीकरणपछि साहले उपेन्द्र यादव नेतृत्वको जसपामा आफ्नो राजनीतिक यात्रा अगाडि बढाएका थिए।
पछिल्लो महाधिवेशनमा पार्टी सचिव पदका लागि उम्मेदवारी दिएका साह असन्तुष्ट रहेका थिए। उनलाई केन्द्रीय नेतृत्वले बेवास्ता गरेको महसुस भएको थियो, विशेषगरी सर्लाही जिल्लाबाट कुनै पनि प्रतिनिधिलाई केन्द्रीय पदमा समावेश नगरिएकोमा उनले निरन्तर गुनासो गरेका थिए।
विज्ञप्तिमा साहले गुनासो सुनुवाइ नहुने स्थितिमा बाध्य भएर पार्टी परित्याग गरेको उल्लेख गरेका छन्। उनका अनुसार, पार्टी नेतृत्वले दीर्घकालीन नेतृत्व विकासमा ध्यान नदिँदा पार्टीभित्र असन्तुष्टि बढेको छ।
साहको राजनीतिक यात्रा मात्र होइन, उनका पारिवारिक सदस्यहरू पनि राजनीतिमा सक्रिय छन्। उनको प्रतिनिधिसभा सदस्यको कार्यकालका क्रममा उनकी श्रीमती राजपा नेपालकै तर्फबाट मधेश प्रदेशसभामा समानुपातिक कोटाबाट निर्वाचित भएकी थिइन्।
साहको पार्टी परित्यागले जसपाको नेतृत्वमा थप चुनौती खडा गरेको छ।




प्रतिक्रिया !