लोक आवाज जनकपुरधाम , १७ माघ / धनुषाका चर्चित कलाकार अविनाश झा, जो ‘कलकतियावाली’को रूपमा लोकप्रिय छन्,ले माघ १४ गते अन्सा सदा संग जिल्ला अदालत धनुषामा कानुनी विवाह गरेका छन्। महिलाको अभिनय गर्दै समाजिक सञ्जालमा चर्चा कमाएका अविनाशको कला धेरै दर्शकले रुचाएका छन्।
विवाहपछि उनले विभिन्न समाजिक सञ्जालहरूमा ट्रोलको सामना गर्नुपरेको खुलासा गरेका छन्। उनले जातीय आधारमा आफूलाई लक्षित गर्दै ट्रोल गरिएको गुनासो व्यक्त गरे। अविनाशले भने, “म कुनै जातलाई हेरेर विवाह गरेको छैन, अन्साको कलाकारिता र हाम्रो कामको सहकार्यका कारण मैले उनलाई जीवनसाथी बनाएको हुँ। जातपातलाई कलाकारितामा ल्याउनु अनुचित हो।”
कलाकार झाले ट्रोल गर्ने व्यक्तिहरुलाई आह्वान गर्दै भने, “समाजिक सञ्जालमा यसरी व्यक्तिको निजी जीवनलाई खेलौना बनाउनु उचित होइन। मेरो विवाह कानुनी रूपमा सम्पन्न भएको छ र म कुनै जातलाई आधार बनाएर निर्णय गर्दिन।”
अविनाशले २०६७ सालदेखि रेडियो नाटकबाट आफ्नो करियर सुरु गरेका थिए र समाजिक सञ्जालको आगमनसँगै थप लोकप्रियता कमाउन सफल भए। उनले युट्युब र फेसबुकमा कमेडी भिडियोहरू सार्वजनिक गर्दै आएका छन्, जसलाई दर्शकहरूले अत्यधिक रुचाएका छन्।

अन्सा सदा, जससँग अविनाशले विवाह गरेका छन्, पनि कलाकारिता क्षेत्रमा सक्रिया छिन् र उनीहरूले एकसाथ काम गर्दै आएका थिए। अविनाश र अन्सालाई मधेश क्षेत्र र भारतको बिहारसम्म पनि लोकप्रियता मिलेको छ।
विवाहसँगै उत्पन्न भएको जातीय विवादको बीच पनि अविनाश आफ्नो काम र जीवनसाथीमा गर्व गर्छन्।




प्रतिक्रिया !