महोत्तरी १३ माघ — नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकार सञ्चालनमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहकार्य मजबुत रहेको बताएका छन्। बर्दिबासमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले सरकार सञ्चालनका विषयमा दुवै दलबीच आपसी सहमति र विश्वासमा अघि बढिएको स्पष्ट पारे। उनले मुलुकको समृद्धि र विकासका लागि दुवै दलबीचको सहमति आवश्यक रहेको भन्दै राजनीतिक अस्थिरता चिर्न सहकार्य गरिरहेको उल्लेख गरे।
“हामी दुवै दलले वर्तमान प्रतिनिधिसभाको कार्यकालभरि स्थिर सरकार दिने वाचा गरेका छौँ,” पोखरेलले भने। उनको भनाइमा, वर्तमान सरकार बनेयता आम जनतामा स्थिर सरकार बनेको अनुभूति भइरहेको छ र यसले आर्थिक सूचकहरूमा सकारात्मक सुधार ल्याइरहेको छ।
महासचिव पोखरेलले मुलुकको समृद्धि र विकासका लागि आगामी निर्वाचनमा स्पष्ट बहुमतको सरकारको आवश्यकता रहेको बताए। उनले ‘मिसन–२०८४’ अभियानमा एमाले दृढ सङ्कल्पका साथ अघि बढेको उल्लेख गर्दै विसं २०८४ को निर्वाचनमा एमालेले स्पष्ट बहुमत प्राप्त गर्ने विश्वास व्यक्त गरे।
मधेस, पहाड, र हिमाल सबै क्षेत्रमा सन्तुलित विकास एमाले नेतृत्वमै सम्भव भएको दाबी गर्दै उनले भने, “मधेसको सडकहरू फराकिला बनाउने र सुनकोसी मरिन डाइभर्सनको काम एमाले नेतृत्वको सरकारले नै सुरु गरेको हो।” मधेसी जनतामा एमाले नेतृत्वप्रति विकासको विश्वास बढ्दै गएको उल्लेख गर्दै पोखरेलले एमाले मधेस प्रदेशमा सबैभन्दा ठूलो दल बनेको तथ्यलाई त्यसको प्रमाणका रूपमा प्रस्तुत गरे।
पोखरेलले मधेसको शिक्षा सुधार र यहाँका प्राकृतिक सम्पदाको अनियन्त्रित दोहन रोक्न आवश्यक रहेको बताए। उनले जनतालाई प्राकृतिक सम्पदाको अवैध दोहनविरुद्ध प्रतिरोध गर्न आह्वान गरे।
कार्यक्रममा एमालेका केन्द्रीय सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी, मधेस इञ्चार्ज लीलानाथ श्रेष्ठ, पोलिटब्युरो सदस्य सुमनराज प्याकुरेल, ज्वाला साह, र मधेस प्रदेशका अध्यक्ष चन्द्रेश्वर मण्डलसहितको उपस्थिति रहेको थियो।



प्रतिक्रिया !