जनकपुरधाम माघ ११ \ जनकपुरधामस्थित मधेस भवन अगाडि भएको मोटरसाइकल दुर्घटनामा भौतिक पूर्वाधार मन्त्रालयका चालक ५० वर्षीय देवेन्द्र यादवको मृत्यु भएको छ। दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा यादवको ज्यान गएको हो।
मृतक यादव लक्ष्मिनीया गाउँपालिका वडा नम्बर १, सोहनीका बासिन्दा थिए। बिहान कार्यालय जाँदै गर्दा विपरीत दिशाबाट आएको विद्यार्थीले चलाएको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो। टाउकोमा गम्भीर चोट लागेर यादवलाई अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको धनुषा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए।
मृतक यादव सवार ज १ ब ७५५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको मधेस प्रदेश २–०२–००४ प ८१९६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो। ठक्कर दिने मोटरसाइकल चालकसँग चालक अनुमति पत्र नभएको र घटनापछि मोटरसाइकल चालकसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ।



प्रतिक्रिया !