जनकपुरधाम माघ १० / धनुषाको विदेह नगरपालिकाले नगरभित्रका सबै घरधनीहरूलाई अनिवार्य रूपमा नक्सा पास गर्न निर्देशन दिएको छ। नगरपालिकाले नयाँ निर्माण हुने भवनहरूका लागि मात्र नभई पहिले नै बनेका भवनहरूका लागि पनि नक्सा पास अनिवार्य गरेको हो।
नगरपालिकाका प्रमुख बेचन दासका अनुसार, नगरपालिकाभित्र रहेका सबै प्रकारका भवनहरूलाई नियमन गर्न र बलियो संरचना सुनिश्चित गर्न यो निर्णय लिइएको हो। उनले भने, “स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार हामीले नगरपालिकाभित्रका सबै घरहरूको लगत राख्नुपर्ने हुन्छ र नयाँ बन्ने घरहरूको नक्सा पास अनिवार्य गरिएको छ।
विदेह नगरपालिकाको वडा नम्बर १ देखि ९ सम्मको वडाभित्र बनेको घरहरुको अभिलेखिकरण, राजश्व असुलीको लागि नक्सा पास अनिवार्य गरिएको हो । नक्सा पास गराउनको लागि नगरपालिकाले एक मापदण्ड समेत तयार पारेको हो । सोही मापदण्ड अनुसार बनिसकेको घरलाई पनि अभिलेखिकरण गर्ने योजना रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र कुमार साहले बताए ।अधिकृत साहका अनुसार, नगर प्रमुख दासको निर्देशनमा सर्वसहमतिबाट नक्सा पासको मापदण्ड लागू हुनेछ ।
नगरपालिकाले नक्सा पास नगरी बनाइएका घरहरूलाई तीन महिनाभित्र नक्सा पास गर्न निर्देशन दिएको छ। यो अवधिभित्र नक्सा पास नगरेमा दोब्बर वा तेब्बर राजश्व तिर्नुपर्ने व्यवस्था गरिएको छ।



प्रतिक्रिया !