काठमाडौं माघ ९ गते । नेकपा एमालेका वरिष्ठ नेता वामदेव गौतमको पार्टीमा फर्किने प्रक्रिया हालका लागि रोकिएको छ।
मंगलबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमालेको सचिवालय बैठकले गौतमलाई पार्टीमा भित्र्याउनेबारे ठोस निर्णय गर्न नसकेपछि प्रक्रिया स्थगित भएको हो। गौतमले एमालेमा फर्कनका लागि विनाशर्त तयारी गरेका थिए, तर पार्टीले उनलाई भित्र्याउने विषयमा सहमति जुटाउन नसकेपछि यो प्रक्रिया तत्काल रोकिएको छ।
वामदेव गौतम तीन वर्षअघि एमालेबाट बाहिरिएका थिए। त्यसपछि उनले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नेबारे छलफल गरेका थिए। तर, नेताहरूबीच व्यवस्थापनको कुरा नमिलेपछि उनले एकीकृत समाजवादीमा जाने योजना त्यागी, एमालेमा फर्किने तयारी थालेका थिए। ओलीसँग पटकपटक भएको संवादले उनलाई एमालेमा फर्किने आशा देखाए पनि एमाले नेतृत्वले स्पष्ट निर्णय नलिंदा गौतम असमञ्जसमा परेका छन्।
मंगलबारको सचिवालय बैठकले गौतमलाई पार्टीमा भित्र्याउँदा हुने ‘नाफा र घाटा’बारे छलफल गरेको थियो, तर ठोस निर्णय हुन नसक्दा यो विषय अनिश्चित बनेको छ। बैठकपछि एमाले महासचिव शंकर पोखरेलले फेसबुकमा लेख्दै गौतम नेतृत्वको ‘राष्ट्रिय एकता अभियान’सँग सहकार्य गर्दै जाने निर्णय भएको जनाएका थिए। यद्यपि, ‘सहकार्य’को अर्थ र त्यसको प्रकृति स्पष्ट नहुँदा गौतम र एमालेबीचको सम्बन्ध अझै अनिश्चित छ।
गौतमले सचिवालयको निर्णयबारे प्रस्ट जानकारी नपाएको बताउँदै ‘सहकार्य’ शब्दले के जनाउँछ भन्ने स्पष्ट नपाएको गुनासो गरेका छन्। ‘सहकार्य भनेको के हो? मैले केही बुझ्न सकिनँ,’ गौतमले प्रश्न गर्दै भने, ‘सहकार्य भनेको काममा एकपक्षीय वा बहुपक्षीय सहयोगलाई भन्छन्।’ उनले एमाले नेतृत्वले यो अवसर ‘च्याप्पै समात्नुपर्ने’ बताउँदै, नेतृत्वको कमजोरीका कारण यो अवसर खेर गएको आरोप लगाए।
गौतमले आफू विनाशर्त एमालेमा फर्किने इच्छा रहेको स्पष्ट गरेका थिए। उनले आफ्नो कुनै शर्त नरहेको भन्दै व्यवस्थापनको सम्पूर्ण जिम्मा पार्टी नेतृत्वलाई नै सुम्पिएका थिए। तर, एमाले नेतृत्वले ‘सहकार्य’को प्रस्ताव गर्दा उनले यसलाई अस्पष्ट र अपूरो ठानेका छन्।
एमालेभित्र भने गौतमको व्यवस्थापन कसरी गर्ने भन्नेमा मतभेद देखिएको छ। गौतमलाई वरिष्ठ वा सम्मानित नेताको भूमिका दिनेबारे नेताहरूबीच एकमत छैन। कतिपय नेताहरूले गौतमलाई वरिष्ठ पद दिनुपर्ने अवस्था भएमा भविष्यमा पूर्वराष्ट्रपति विद्या भण्डारी वा झलनाथ खनालहरू पनि पार्टीमा प्रवेश गर्ने परिस्थिति कसरी सम्हाल्ने भन्ने विषयमा छलफल गर्नुपर्ने बताएका छन्।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, वामदेवसँग सहकार्य सुरु भएपछि एकता छिट्टै कायम हुने दाबी गरेका छन्। उनले सहकार्यका अन्य पक्षहरू मिलाउँदै जाने बताउँदै यो प्रक्रिया स्वाभाविक भएको बताए।
गौतमको नेतृत्वमा रहेको ‘राष्ट्रिय एकता अभियान’ विभाजनको अवस्थामा पुगेको छ। एमालेमा फर्कन लाग्दा गौतमको अभियानमा आवद्ध धेरै सदस्यहरू अन्यत्र गइसकेका छन्। यद्यपि, एमाले नेतृत्वले गौतमलाई तत्काल पार्टीमा प्रवेश गराउने नीतिमा अझै स्पष्टता नदेखाएका कारण यो प्रक्रिया तत्कालका लागि स्थगित भएको छ।




प्रतिक्रिया !