२८ पुस, काठमाडौं । पृथ्वीको सतह यति धेरै तात्दै गएको छ कि हर मौसम र वर्षमा चिन्ताजनक रेकर्ड दर्ज हुँदै गएको छ । विश्वको क्यालेन्डरमा सन् २०२४ यस्तो वर्ष रह्यो जो यो युगकै सबैभन्दा तातो वर्ष घोषित भयो ।
जलवायुको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय एजेन्सी कोपरनिकस केलाइमेट चेन्ज सर्भिसले तापक्रम सम्बन्धी एक रिपोर्ट सार्वजनिक गर्दै भनेको छ– सन् २०२४ को तापक्रम औद्योगिक युगकै उच्च भएको छ । विश्वको औसत तापक्रम पूर्व–औद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा बढी भएको छ ।
‘असारमा कञ्चनपुरको दोधारा चाँदनीमा भएको आरीघोप्टे वर्षा, साउनमा थामेको हिमबाढी, असोजमा काठमाडौं उपत्यकामा भएको रेकर्ड ब्रेक वर्षाका कारण निम्तिएको विपत्ति लगायतका घटनाहरु जलवायु परिवर्तनसँग अन्तर सम्बन्धित छन्,’ जोशी भन्छन्, ‘यसले ग्लोबल वार्मिङबाट नेपाल पनि संकटमा परेको देखाउँछ ।’
कोपरनिकसको ताजा रिपोर्ट अनुसार सन् २०२४ मा अत्यधिक गर्मी, बाढीपहिरो, खडेरी र डढेलोका घटना बढेका थिए । उदाहरणका लागि नेपालमै डढेलोले विगतका सबै रेकर्ड तोडेको थियो । क्यानडा र बोलिभियामा पनि डढेलोले रेकर्ड तोडेको थियो ।
यसैगरी उच्च तापमान र आद्रताले गम्भीर स्तरको गर्मीको स्थितिलाई बढावा दिएको थियो ।
रिपोर्टका अनुसार जुलाई २०२४ मा विश्वमा ४४ प्रतिशत क्षेत्रमा गम्भीरदेखि अति गम्भीर गर्मी थियोे । गर्मी बढाउन अल निनोको पनि योगदान थियोे ।
१.५ डिग्री सेल्सियस तापक्रम अधिक हुनुको अर्थ के हो ?
वैज्ञानिकका अनुसार १९ औं शताब्दी भन्दा अगाडिसम्म पृथ्वीको औसत तापक्रम करिब १३.७ डिग्री सेल्सियसदेखि १४ डिग्री सेल्सियसको बीच थियो । त्यतिबेला उद्योग कलकारखाना र मानवीय गतिविधि कम थिए । तर विश्वभर विकासले गति लिँदै गर्दा र उद्योग कलकारखाना, सवारी साधन तथा जनसंख्या बढ्दा प्रदूषण पनि बढाइरहेको छ । जसका कारण हरितगृह ग्याँस उत्सर्जनमा बढावा हुँदा जलवायु परिवर्तनका असर पनि बढिरहेका छन् ।
भारत र नेपालका मौसम विज्ञान विभागले पनि सन् २०२४ मा अत्यधिक गर्मी भएको जनाइसकेका छन् । नेपालको हालसम्मकै उच्च तापक्रम भने ४६.४ डिग्री सेल्सियस हो । यो तापक्रम सन् १९९५ को जुन १६ मा धनगढीमा रेकर्ड भएको थियो ।
नेपालमा सन् २०२४ को उच्च अधिकतम तापक्रम गत एप्रिल २० मा भैरहवामा मापन भएको थियो । त्यहाँ ४३.६ डिग्री सेल्सियस अधिकतम तापक्रम रेकर्ड भएको थियो ।
नेपालमा अप्रिल, मे र जुन महिना बढी गर्मी हुने महिना हुन् । गत जुन महिनामा अत्यधिक गर्मी र तराईका जिल्लाहरुमा तातो हावाको लहर चल्दा विद्यालय नै बन्द गर्नुपरेको थियो ।
पहाडी जिल्ला काठमाडौंमै पनि अत्यधिक गर्मी महसुस भएको थियो । विगत ३० वर्षको तथ्यांकलाई आधार मान्दा जुन महिनामा काठमाडौंको सरदर अधिकतम् तापक्रम २९.४ डिग्री सेल्सियस हो ।
काठमाडौं उपत्यकामा सन् १९६८ देखि २०२० सम्मको जुन महिनाको औसत अधिकतम तापक्रम ०.०५ डिग्री सेल्सियसले वृद्धि भइरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविदहरु बताउँछन् । यसैगरी जुन महिनाको सबैभन्दा ताता दिनहरुको ट्रेण्ड पनि ०.०५ डिग्री सेल्सियसले बढेको छ ।
संयुक्त राष्ट्रसंघको मौसम विज्ञान एजेन्सी (डब्ल्यूएमओ)ले हालै एक प्रतिवेदन सार्वजनिक गर्दै विश्वको वार्षिक औसत तापक्रम १.५ डिग्री सेल्सियस भन्दा बढी हुने सम्भावना ८० प्रतिशतले बढेको जनाएको थियो ।
कोपरनिकसको रिपोर्ट अनुसार सन् २०२४ को औसत वैश्विक तापक्रम १८५०–१९०० को पूर्वऔद्योगिक समयभन्दा सरदर १.६ डिग्री सेल्सियसले बढेको छ । यसबाट थाहा हुन्छ कि तापक्रम वृद्धि दर औसतमा १.५ डिग्रीमा सीमित गर्ने पेरिस सम्झौता कार्यान्वयन भएको छैन ।



प्रतिक्रिया !