काठमाडौं, पौष २८ । नेपाल प्रहरीले दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याएका तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरी कारबाहीका लागि भन्सार कार्यालय चलान गरेको छ।
प्रहरी प्रधान कार्यालयले आज उक्त घटना विवरण सार्वजनिक गर्दै सप्तरी घर भएका ३२ वर्षीय कृष्णप्रसाद चौधरी, ३० वर्षीय मोहम्मद इलियास र सुनसरीको इटहरी उपमहानगरपालिका–१९ का २७ वर्षीय शिवशंकर चौधरीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको हो।
हिमालय एयरलाइन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएका उनीहरूलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटमा जाँचगर्ने क्रममा पक्राउ गरिएको थियो।
प्रहरीले कृष्णप्रसादको साथबाट करिब ५८ दशमलव ३३ ग्राम तौलको सिक्री १ थान, मोहम्मदको साथबाट करिब ५८ दशमलव ३३ ग्राम तौलको सिक्री १ थान र शिवशंकरको साथबाट करिब ५८ दशमलव ३३ ग्राम तौलको सिक्री १ थान बरामद गरेको जनाइएको छ।




प्रतिक्रिया !