लोक आवाज ,
काठमाडौं, २८ भदौ । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० विकेट पूरा गर्ने पहिलो नेपाली बलरको कीर्तिमान बनाएका छन्।
एसिसी प्रिमियर कपअन्तर्गत शनिबार संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको फाइनलमा एक विकेट लिएसँगै सन्दीपले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो विकेट संख्या ३०० पुर्याएका हुन्।
सन्दीपले हालसम्म एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १५८ तथा टी–२० अन्तर्राष्ट्रियमा १४२ विकेट लिएका छन्। उनले एकदिवसीयमा ७९ र टी–२० आईमा ७८ खेल खेलिसकेका छन्।
यस उपलब्धिसँगै सन्दीपले विदेशी भूमिमा एसिसी प्रिमियर कपको उपाधि जिताउने नेपाली कप्तानको कीर्तिमानसमेत बनाएका छन्। सन् २०२३ मा नेपालले घरेलु मैदानमा प्रिमियर कपको उपाधि जित्दा टोलीको कप्तानी रोहितकुमार पौडेलले गरेका थिए।
सन्दीप एसिसी प्रिमियर कपको एकदिवसीय संस्करणमा लगातार दोस्रोपटक ‘प्लेयर अफ द सिरिज’ घोषित हुने पहिलो खेलाडीसमेत बनेका छन्। सन् २०२३ को संस्करणमा पनि उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिएका थिए। त्यसबेला उनले ५५ रन बनाउनुका साथै १३ विकेट लिएका थिए।
यसपटक पनि सन्दीपले बलिङमा प्रभावशाली प्रदर्शन गरे। एसिसी प्रिमियर कप २०२६ मा उनले ६ खेलबाट २.९८ को उत्कृष्ट इकोनोमी रेटमा सर्वाधिक १७ विकेट लिए।
नेपाललाई दोस्रोपटक एसिया कपमा स्थान बनाउन सन्दीपको प्रदर्शन महत्वपूर्ण रह्यो। प्रतियोगिताभर उनको उत्कृष्ट बलिङले नेपाली टोलीलाई उपाधि यात्रामा महत्वपूर्ण योगदान पुर्याएको हो।



प्रतिक्रिया !