लोक आवाज ,
काठमाडौं , १८ बैशाख — ICC विश्वकप लिग–२ अन्तर्गत शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा नेपालले यूएईमाथि ६ रनको रोमाञ्चक जित दर्ता गरेको छ।
वर्षाले प्रभावित खेलमा डकवर्थ–लुइस (डीएलएस) पद्धतिअनुसार तय गरिएको लक्ष्य भेट्टाउन नसक्दा यूएई नेपालसँग पराजित भएको हो। यस जितसँगै नेपालले लिग–२ को अंक तालिकामा महत्वपूर्ण अंक थपेको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८९ रनको बलियो योगफल तयार पारेको थियो। नेपालको इनिङ्समा दीपेन्द्र सिंह ऐरी ले उत्कृष्ट शतक प्रहार गर्दै ९४ बलमा १३ चौका र १ छक्काको मद्दतमा अविजित १०० रन बनाए।
ओपनर विनोद भण्डारी ले ५६ रनको अर्धशतक प्रहार गर्दा कप्तान रोहित कुमार पौडेल ले ३९ रन जोडे। एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका अर्जुन कुमाल भने ११ रनमा आउट भए।
यूएईका लागि बलिङतर्फ अजय कुमार र जुनेदले समान २–२ विकेट लिए।
२९० रनको लक्ष्य पछ्याउने क्रममा वर्षाले खेल अवरुद्ध भएपछि यूएईले ३८ ओभरमा २५५ रनको परिमार्जित लक्ष्य पाएको थियो। जवाफमा यूएईले ३८ ओभरमा ८ विकेट गुमाउँदै २४८ रन मात्र बनाउन सक्यो।
यूएईका मोहम्मद शहजाद ले ७२ बलमा ६५ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। तनवीरले ४९ र हरप्रीत सिंहले ४१ रन बनाए पनि अन्य ब्याटर चल्न सकेनन्।
नेपालका लागि बलिङतर्फ सन्दीप लामिछाने ले ३ विकेट लिए। त्यस्तै सोमपाल कामी र नन्दन यादव ले समान २–२ विकेट लिए।
उत्कृष्ट ब्याटिङ र कसिलो बलिङको प्रदर्शन गर्दै नेपालले घरेलु दर्शकमाझ महत्वपूर्ण जित हात पारेको हो। नेपालले अब आफ्नो अर्को खेल आगामी मंगलबार ओमानसँग खेल्ने तालिका रहेको छ।



प्रतिक्रिया !