lok aawaj,
महोत्तरी, ११ फागुन । त्रेता युगमा राम र सीताले रंग–अबिर खेली होली मनाएको जनविश्वाससँग जोडिएको कञ्चनवन सोमबार रंगीन बनेको छ ।
मिथिला मध्यमा परिक्रमा अन्तर्गत मिथिला बिहारीको डोलासहित कञ्चनवन पुगेका श्रद्धालुहरूले एकअर्कालाई रंग–अबिर दल्दै उल्लासपूर्वक होली पर्व मनाएका हुन् । कञ्चनवनमा रंग खेलेसँगै मिथिलाञ्चल क्षेत्रमा होली पर्वको औपचारिक आगमन भएको मानिने परम्परा रहेको संस्कृतिविदहरूले बताएका छन् ।
परम्पराअनुसार परिक्रमा टोली कञ्चनवन आइपुग्नेबित्तिकै होली खेल्ने चलन रहिआएको छ । स्थानीय मठ–मन्दिरका महन्थ, विभिन्न सामाजिक तथा सांस्कृतिक अभियन्ता तथा राजनीतिक क्षेत्रसँग आबद्ध व्यक्तिहरूको उल्लेख्य सहभागिताले यहाँको होलीलाई विशेष बनाउने गरेको छ । धार्मिक आस्था र सांस्कृतिक एकताको प्रतीकका रूपमा कञ्चनवनको होली वर्षेनि झन् व्यवस्थित हुँदै गएको देखिन्छ ।
फागुन शुक्ल प्रतिपदाबाट सुरु हुने मिथिला मध्यमा परिक्रमा फागुन शुक्ल सप्तमीका दिन ध्रुवकुण्डबाट कञ्चनवन पुग्ने परम्परा छ । धार्मिक दृष्टिले महत्वपूर्ण मानिने यस क्षेत्रमा इच्छावती गंगा र वीरजा गंगाको संगमस्थल रहेको विश्वास गरिन्छ ।
इच्छावती नदीले भगवान रामलाई होली उत्सव मनाउन सहयोग गरेको किंवदन्ती पनि प्रचलित छ । यही स्थलमा राम–जानकीले होली खेलेको जनआस्था रहँदै आएकोले कञ्चनवनलाई मिथिलाञ्चलको महत्वपूर्ण सांस्कृतिक धरोहरका रूपमा लिइन्छ ।
स्थानियवासीका अनुसार महोत्तरीको यो ऐतिहासिक स्थल धार्मिक पर्यटन र सांस्कृतिक संरक्षणका दृष्टिले पनि विशेष महत्व बोकेको छ ।






प्रतिक्रिया !