चन्द्रनिगाहपुरमा अवैध अस्पताल सञ्चालन गर्ने सञ्चालक पक्राउ

चन्द्रनिगाहपुरमा अवैध अस्पताल सञ्चालन गर्ने सञ्चालक पक्राउ

रौतहट, १९ फागुन।  रौतहटको चन्द्रनिगाहपुरमा लामो समयदेखि बिना दर्ता अवैध रूपमा सञ्चालन हुँदै आएको एक अस्पतालका सञ्चालकलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको छ। चन्द्रपुर–४ स्थित ‘सिभिल हुम्यान एण्ड रिसर्च सेन्टर’का सञ्चालक राजन साहलाई पक्राउ गरिएको हो।

 

प्रहरीको यो कारबाही शनिबार मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा भएको अनुगमनपछि आएको हो। मुख्यमन्त्री सिंह र अनुगमन टोलीले अस्पतालको निरीक्षण गर्दा अस्पताल दर्ता नगरी सञ्चालन भइरहेको पत्ता लागेको थियो। उक्त अनुगमनले चन्द्रनिगाहपुरका धेरै निजी अस्पतालहरू कानूनी प्रक्रिया बिना नै सञ्चालन भइरहेका छन् भन्ने तथ्य उजागर गरेको छ।

 

अनुगमनका क्रममा मुख्यमन्त्री सिंहले दर्ता नभएका अस्पतालहरूलाई तत्काल रोक लगाउन निर्देशन दिएका थिए। अनुगमन टोलीले राजन साहलाई अस्पताल दर्ता नगरी सञ्चालन रोक्न पत्र जारी गरेको थियो। तर, साहले उक्त निर्देशनको अवज्ञा गर्दै अस्पताललाई अवैधरूपमा सञ्चालन गर्न जारी राखे। यसैले सोमबार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले उनलाई पक्राउ गरेको हो।

 

प्रहरी नायब उपरीक्षक राजकुमार राईले जनस्वास्थ्यमा जोखिम पुर्याउनेगरी अवैध रूपमा अस्पताल सञ्चालन गर्न नपाइने स्पष्ट पारे। उनले भने, “अस्पताल जस्तो संवेदनशील क्षेत्रको अवैध सञ्चालनले जनताको स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्छ। यस कारण साहलाई पक्राउ गरी कानूनी प्रक्रिया अगाडि बढाइएको छ।”

 

अनुगमन टोलीका सदस्य सचिव सन्तोष ठाकुरका अनुसार अनुगमनका क्रममा चन्द्रनिगाहपुरका ११ वटा निजी अस्पतालहरू निरीक्षण गरिएको थियो। जसमध्ये केवल ‘चन्द्रपुर अस्पताल प्रालि’ मात्र वैध रूपमा सञ्चालनमा रहेको पाइएको छ। बाँकी १० वटा अस्पताल दर्ता नगरी सञ्चालन हुँदै आएका थिए। यो अनियमितता चन्द्रनिगाहपुर क्षेत्रमा जनस्वास्थ्यप्रति गम्भीर लापरवाहीको उदाहरण भएको बताइएको छ।

 

अनुगमन क्रममा निरीक्षण गरिएका अस्पतालहरूमध्ये ‘हाइवे ट्रमा हस्पिटल एण्ड रिसर्च सेन्टर’, ‘सिभिल हुम्यान एण्ड रिसर्च सेन्टर’, ‘पब्लिक लाइफ केयर पोलिक्लिनिक’, ‘एपोलो सिटी अस्पताल’, ‘चपुरसिटी अस्पताल’, ‘हिमालय पोलीक्लिनिक’, ‘चन्द्रपुर सामुदायिक अस्पताल’, ‘नमस्ते डेन्टल क्लिनिक’, ‘चन्द्रपुर अर्थोपेडिक अस्पताल’, र ‘चन्द्रपुर आखा तथा दाँत उपचार केन्द्र’ अवैध रूपमा सञ्चालन भइरहेको पाइएको हो।

 

यो घटनाले चन्द्रनिगाहपुर क्षेत्रका अस्पतालहरूको व्यवस्थापन र नियमनमा गम्भीर खोट रहेको देखाएको छ। जनस्वास्थ्यको महत्त्वपूर्ण क्षेत्रमा यस्तो लापरवाही निन्दनीय रहेको भन्दै स्थानीयले अस्पतालहरूमा कडा निरीक्षण र नियमनको माग गरेका छन्।

 

प्रहरीले अवैध रूपमा सञ्चालन भइरहेका अन्य अस्पतालहरूमा पनि कानूनी प्रक्रिया अगाडि बढाउने तयारी गरिरहेको छ। “जनताको स्वास्थ्यसंग खेलबाड गर्ने कुनै पनि गतिविधि सह्य हुने छैन,” नायब उपरीक्षक राईले भने। अनुगमन टोलीले अबका दिनहरूमा अझ कडा कदम चाल्ने र अवैध अस्पतालहरूको नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार