प्रेस चौतारी नेपालको २८औँ स्थापना दिवस जनकपुरधाममा भव्य रूपमा सम्पन्न

प्रेस चौतारी नेपालको २८औँ स्थापना दिवस जनकपुरधाममा भव्य रूपमा सम्पन्न

सुनिल साह ,

जनकपुरधाम, २२ माघ । प्रेस चौतारी नेपालको २८औँ स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रम जनकपुरधाममा भव्य र सफलतापूर्वक सम्पन्न भएको छ। प्रेस चौतारी नेपाल धनुषाको आयोजनामा सम्पन्न कार्यक्रममा पत्रकारिता क्षेत्रका अग्रज, राजनीतिक नेतृत्व तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन प्रेस चौतारी नेपाल धनुषाका सचिव सुनिल कुमार साहले गर्नुभएको थियो भने अध्यक्षता प्रेस चौतारी नेपाल धनुषाका अध्यक्ष नबिन प्रियदर्शीले गर्नुभएको थियो। कार्यक्रमको उद्घाटन सत्रमा प्रेस चौतारी नेपालको स्थापना, उद्देश्य र पत्रकारितामा यसको योगदानबारे चर्चा गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) का उपमहासचिव तथा धनुषा क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कमरेड रघुवीर महासेठ रहनुभएको थियो। उहाँले प्रेस चौतारी नेपालले लोकतन्त्र, प्रेस स्वतन्त्रता र राष्ट्र निर्माणको प्रक्रियामा खेलेको भूमिकाको प्रशंसा गर्दै पत्रकारहरूले सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारितालाई आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी, विशिष्ट अतिथिका रूपमा नेकपा (एमाले) केन्द्रीय सदस्य तथा धनुषा क्षेत्र नम्बर–३ की प्रतिनिधिसभा सदस्यकी उम्मेदवार कमरेड जुली महतो र नेकपा (एमाले) केन्द्रीय सदस्य, मधेश प्रदेशका निवर्तमान सभामुख तथा धनुषा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कमरेड रामचन्द्र मण्डलको उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, जिल्ला सदस्यहरू, प्रेस चौतारी नेपालका केन्द्रीय, प्रदेश तथा जिल्ला सदस्यहरू, नेपाल प्रेस युनियन धनुषाका जिल्ला अध्यक्षलगायत विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सम्मानजनक र उल्लेखनीय उपस्थिति रहेको थियो।

वक्ताहरूले प्रेस चौतारी नेपालको स्थापना दिवसले पत्रकारहरूबीच पेशागत एकता मजबुत बनाएको, पत्रकारिताको मर्यादा र लोकतान्त्रिक मूल्यको संरक्षणमा संगठनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको धारणा राखे। कार्यक्रममा सहभागी सबै वक्ता तथा अतिथिहरूले प्रेस चौतारी नेपाललाई २८औँ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै आगामी दिनमा अझ सशक्त, जिम्मेवार र जनमुखी पत्रकारिता गर्न प्रेरणा मिलोस् भन्ने कामना गरेका थिए।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार