सुनिल साह ,
जनकपुरधाम, १७ माघ । मधेश प्रदेश सभाका सभामुख रामआशिष यादवले पहिलो पटक प्रदेश सभाको बैठक मैथिली भाषाबाट सञ्चालन गर्दै नयाँ अभ्यासको सुरुवात गरेका छन्।
प्रदेश सभा स्थापना भएको करिब आठ वर्षपछि सभामुख यादवले मातृभाषामा सभाको कार्यसूची अघि बढाउँदै सभाको उद्देश्य र भूमिकाबारे धारणा राखेका हुन्। बैठकको प्रारम्भिक चरणमा मैथिली भाषा प्रयोग गरिएको थियो भने दोस्रो चरणदेखि बैठक नेपाली भाषामा सञ्चालन गरिएको थियो।
सभामुख यादवले मधेश प्रदेशको कामकाजी भाषा हालसम्म औपचारिक रूपमा निर्धारण नभएकाले दुवै भाषालाई समेट्ने प्रयास गरिएको स्पष्ट पारे। प्रदेश सभाको पहिलो बैठकमै भाषाको विषयलाई लिएर विवाद उत्पन्न नहोस् भन्ने उद्देश्यले यस्तो अभ्यास अपनाइएको उनले बताए।
मातृभाषाको सम्मान गर्दै सबै प्रदेश सभा सदस्यहरूलाई सहज हुने वातावरण निर्माण गर्न मैथिली र नेपाली दुवै भाषाको प्रयोग गरिएको सभामुख यादवको भनाइ छ।



प्रतिक्रिया !