फूटपाथ पैदलयात्रीका लागि खाली गराउन जनकपुरधाममा हस्ताक्षर संकलन अभियान

फूटपाथ पैदलयात्रीका लागि खाली गराउन जनकपुरधाममा हस्ताक्षर संकलन अभियान

सुनिल साह ,

जनकपुरधाम, माघ १७ । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको जनकपुरधाम शहरी क्षेत्रका सम्पूर्ण फूटपाथ पैदलयात्रीका लागि पूर्ण रूपमा खाली गरिनुपर्ने मागसहित शनिबार जनकपुरधाममा हस्ताक्षर संकलन अभियान सञ्चालन गरिएको छ।

जनकपुरधामका अभियन्ता तथा पत्रकार ध्रुव झाले जनक चौकमा फूटपाथ पैदलयात्रीको अधिकार भएको उल्लेख गर्दै लामो समयदेखि विभिन्न रचनात्मक तथा शान्तिपूर्ण अभियान सञ्चालन गर्दै आउनु भएको छ। सोही अभियानअन्तर्गत शनिबार जनक चौकमा हस्ताक्षर संकलन गरिएको हो।

मिथिलाको परम्परागत पहिरन धोती लगाएर गरिएको अभियानमा केही घण्टामै सयौं सर्वसाधारणले हस्ताक्षर गर्दै फूटपाथ खाली गराउने अभियानप्रति ऐक्यबद्धता जनाएका छन्। अभियानमा नागरिकहरूको स्वतःस्फूर्त सहभागिता देखिएको थियो।

एशियाली विकास बैंकको सहयोगमा ढल, कालोपत्रे सडक तथा फूटपाथ निर्माण भए पनि साना तथा मझौला व्यवसायीहरूले फूटपाथ अतिक्रमण गरी पसल सञ्चालन गर्दा पैदलयात्रीलाई हिँडडुलमा कठिनाइ भइरहेको छ। यसै समस्यालाई उजागर गर्दै पत्रकार झा निरन्तर रूपमा अहिंसात्मक तथा रचनात्मक आन्दोलन गर्दै आउनु भएको छ।

यसअघि फूटपाथ खाली गराउन गरिएको अर्धनग्न धर्ना तथा प्रदर्शनपछि जनकपुरधाम उपमहानगरपालिकाले केही स्थानमा फूटपाथ खाली गराएको थियो। तर अझै पनि अधिकांश स्थानमा समस्या यथावत् रहेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका अनुसार फूटपाथ अवरुद्ध हुँदा पैदलयात्री सडकबाट हिँड्न बाध्य हुने गरेका छन्, जसका कारण ट्राफिक दुर्घटना र सडक जामको जोखिम बढेको छ।

पत्रकार ध्रुव झाले थालेको अभियानमा विभिन्न क्षेत्रका नागरिक, सामाजिक अभियन्ता तथा सरोकारवालाहरूले समर्थन जनाउँदै आएका छन्। जनकपुरधाममा दैनिक रूपमा स्वदेशी तथा विदेशी पर्यटक आउने भएकाले फूटपाथमा गरिएको अव्यवस्थित व्यापारले शहरको छवि नकारात्मक बन्ने र फोहोर व्यवस्थापनमा समस्या हुने गरेको बताइएको छ।

फूटपाथ पूर्ण रूपमा खाली भई पैदलयात्रीले सहज रूपमा हिँडडुल गर्न पाउने वातावरण बनेमा सवारी दुर्घटना, सडक जाम र फोहोर व्यवस्थापनमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ। साथै, जनकपुरधामको शहरी सौन्दर्यीकरणमा समेत उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार