फागुन २१ को चुनाव म्या‌द नजिकिँदै, ९० दिन मात्र बाँकी

फागुन २१ को चुनाव म्या‌द नजिकिँदै, ९० दिन मात्र बाँकी

लोक आवाज,
काठमाडौँ मंसिर १९ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन अब ९० दिन मात्र बाँकी रहँदा निर्वाचन आयोगले तयारीलाई तीव्र बनाएको छ। राजनीतिक दलहरू पनि चुनाव केन्द्रित आन्तरिक तयारीमा लागिरहेको देखिन्छ।

निर्वाचन कार्यक्रमअनुसार आयोगले शनिबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। सो कार्यक्रमअनुसार मंसिर २१ गते बिहान १०ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म दलहरूले समानुपातिक निर्वाचन प्रणालीका लागि आवेदन दिन सक्नेछन्। आयोगले प्राप्त निवेदनको सूची मंसिर २४ गते सार्वजनिक गर्ने छ।

समानुपातिकतर्फ उम्मेदवारहरूको बन्द सूची पुस १३ तथा १४ गते बिहान १० बजेबाट ४ बजेभित्र दर्ता गरिनेछ। त्यसपछि माघ ३० गते समानुपातिक उम्मेदवारको बन्द सूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यतालिका छ। प्रत्यक्षतर्फका निर्वाचन प्रक्रियामा माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता हुने छ। सोही दिन प्राथमिक सूची सार्वजनिक गरिनेछ। मनोनयनविरुद्ध उजुरी दर्ता गर्ने समय माघ ७ गते तोकिएको छ भने उजुरी निरूपणपछि माघ ८ गते उम्मेदवारहरूको नामावली प्रकाशित गरिनेछ।

माघ ९ गते उम्मेदवारले मनोनयन फिर्ता लिन सक्ने व्यवस्थासहित सोही दिन अन्तिम नामावली प्रकाशित गरिने र उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ। चुनाव नजिकिँदै गर्दा आयोग र दलहरूको तयारी झनै सक्रिय हुँदै गएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार