स्नातक उत्तीर्ण बेरोजगार युवा र पिडित  किसानलाई भत्ता–राहत दिने मुख्यमन्त्री यादवको तयारी,

स्नातक उत्तीर्ण बेरोजगार युवा र पिडित  किसानलाई भत्ता–राहत दिने मुख्यमन्त्री यादवको तयारी,

सुनिल साह ,

जनकपुरधाम , ०९ मंसिर – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशका शिक्षित बेरोजगार युवालाई भत्ता र वर्षा–डुबानको कारण धानवालीमा क्षति व्यहोरेका किसानलाई राहत प्रदान गर्ने तयारी अघि बढाएको बताएका छन्। प्रदेश मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले यी दुवै योजनाका प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरे पनि सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण तत्काल निर्णय गर्न नसकिएको जानकारी दिए।

मुख्यमन्त्री यादवका अनुसार स्नातक उत्तीर्ण शिक्षित बेरोजगार युवालाई मासिक २ हजार रुपैयाँ भत्ता दिने तथा प्राकृतिक विपत्तिका कारण धानवाली क्षति भएका किसानलाई प्रतिकठ्ठा १ हजार ५ सय रुपैयाँ राहत उपलब्ध गराउने प्रक्रियामा रहेको जानकारी गराउनुभएको छ ।

यसै क्रममा पत्रकार सम्मेलनमा मुख्यमन्त्री यादवले स्वास्थ्य मन्त्रालयमा कर्मचारी सरुवालाई लिएर भएको चलखेलबारे पनि बोले। केही समयअघिको सरुवामा अनियमितता र प्रभावको आरोप उठेपछि उनले मुख्यसचिवलाई कानुन विपरीत काम गर्ने सचिवविरुद्ध कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताए। उनले मन्त्रालयभित्रको गैरव्यवस्थापन र व्यक्तिवादले सेवाको गुणस्तरमा असर पारेको जनाउँदै सुधारका लागि कडा कदम चालिने उल्लेख गरे।

यादव नेतृत्वको सरकारले गठन गरेको पहिलो मन्त्रिपरिषद्ले विवाहपञ्चमी महोत्सवलाई व्यवस्थित, प्रभावकारी र सुरक्षित ढंगले सञ्चालन गर्न समिति गठन गर्ने निर्णय गरेको थियो। साथै, नेपाल सरकारद्वारा स्वीकृत अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि, २०८२ अनुसार प्रदेशभित्र रासायनिक मल आपूर्ति तथा वितरण प्रणालीलाई पारदर्शी बनाउन निर्णय गरिएको उनले स्मरण गराए।

मुख्यमन्त्री यादवले प्रदेश सरकार जनताको हितमा लक्ष्यित कार्यक्रम अघि बढाउन प्रतिबद्ध रहेको उल्लेख गर्दै सर्वोच्चको आदेशले अवरोध सिर्जना गरे पनि कानुनी प्रक्रिया पूरा गर्दै आवश्यक निर्णय लिइने विश्वास व्यक्त गरे।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार