लोक आवाज ,
काठमाडौँ , ८ कार्तिक। पछिल्ला दिनमा सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति र समूहहरूले धर्ना, जुलुस तथा विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गर्न थालेपछि गृह मन्त्रालयले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा असन्तुष्ट पक्षहरूलाई वार्ता र संवादका माध्यमबाट समस्या समाधान गर्न आग्रह गरिएको छ।
विज्ञप्तिमा भनिएको छ कि सरकार जनताका जायज माग, चासो र सरोकारहरूलाई सम्बोधन गर्न गम्भीर छ र लोकतान्त्रिक अभ्यासका सबै रूपहरूको सम्मान गर्दछ। मन्त्रालयका अनुसार वर्तमान सरकार आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको तयारीमा केन्द्रित छ। सोही उद्देश्यले सरकारले आवश्यक कानुनी संशोधन, स्रोत साधनको परिचालन र राजनीतिक दलहरूसँग निरन्तर संवाद गरिरहेको उल्लेख गरिएको छ।
गृह मन्त्रालयले देशमा शान्ति, सुरक्षा र स्थिरता कायम गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सबैको सहकार्य आवश्यक रहेको बताएको छ। विज्ञप्तिमा भनिएको छ, “निर्वाचनलाई सहज र सफल बनाउन सबै पक्षको भूमिका अपरिहार्य छ, त्यसका लागि सहकार्य र समन्वय आवश्यक छ।”
मन्त्रालयले गत भदौ २३ र २४ गते भएका प्रदर्शनपछि सार्वजनिक सेवा पुनः सञ्चालन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण सुरु भइसकेको उल्लेख गरेको छ। स्थिति क्रमशः सामान्य बन्दै गएको र सरकार निर्वाचनमुखी वातावरण निर्माणमा जुटिरहेको बताइएको छ।
तर पछिल्ला दिनमा सामाजिक सञ्जालमार्फत पुनः विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक भइरहेकोप्रति मन्त्रालयले चिन्ता व्यक्त गरेको छ। मन्त्रालयले चेतावनी दिँदै भनेको छ, “देशमा अस्थिरता फैलाउने स्वार्थ समूहहरूले यस्ता कार्यक्रममा घुसपैठ गरी अराजकता सिर्जना गर्ने सम्भावना रहन्छ, त्यसकारण आयोजकहरू सचेत रहनु आवश्यक छ।”
गृह मन्त्रालयले जनताको भावना र अधिकारको सम्मान गर्दै सबै विवाद र असन्तुष्टिहरूलाई संवादका माध्यमबाट समाधान गर्न आग्रह गरेको छ। मन्त्रालयको भनाइमा, आगामी निर्वाचनको तयारी र राष्ट्रिय स्थिरता दुवैका लागि संयम, जिम्मेवारी र सहकार्य अहिलेको आवश्यकता हो।




प्रतिक्रिया !