सीके राउतबाट अलग भएका नेताहरूले नयाँ पार्टी गठन गरे

सीके राउतबाट अलग भएका नेताहरूले नयाँ पार्टी गठन गरे

सुनिल साह,

लोक आवाज,जनकपुरभाम, असोज ४ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीबाट निष्कासित र असन्तुष्ट भएका केही नेताहरूले नयाँ राजनीतिक दल ‘जनस्वराज पार्टी’ गठन गरेका छन्। शनिबार दुईदिने बैठकपछि मधेस प्रदेशको राजधानी जनकपुरमा यो घोषणा गरिएको हो।

नयाँ पार्टीको नेतृत्व डा. सञ्जयकुमार साहले सम्हालेका छन्। सहभागी नेताहरूले व्यक्तिवादविरुद्ध सामूहिक नेतृत्वमा पार्टी सञ्चालन गर्ने योजना रहेको बताएका छन्। संस्थापक सदस्य इञ्जिनियर दीपक साहले भने, “हामी कसैलाई अध्यक्ष बनाउने छैनौँ, विभिन्न विभागमार्फत जिम्मेवारी बाँडेर पार्टी चलाउनेछौं।”

पार्टीले सुरुमा तीन विभाग गठन गरेको छ;

राजनीतिक संगठन विभागको नेतृत्व इ. दीपक साह,

आर्थिक विभाग इ. सुरेन्द्रनारायण यादव,

प्रशिक्षण विभाग डा. सञ्जयकुमार साहलाई जिम्मा दिइएको छ।

दीपक साह र सुरेन्द्र यादव पहिले जनमत पार्टीमा उपाध्यक्ष र कोषाध्यक्ष थिए। उनीहरूलाई अनुशासन उल्लंघनको कारण पार्टीबाट कारबाही गरिएको थियो। जनस्वराज पार्टीले व्यक्तिवादभन्दा सामूहिक नेतृत्व, सेवामूलक राजनीति र जवाफदेही प्रणालीको स्थापना गर्ने प्रतिबद्धता जनाएको छ। पार्टीले समानुपातिक निर्वाचन प्रणाली, भ्रष्टाचारमुक्त शासन, कार्यकारी राष्ट्रपतीय प्रणाली र स्थानीय स्वायत्ततासहित जनताको प्रत्यक्ष सहभागितामा जोड दिएको छ। पूर्व उपाध्यक्ष अब्दुल खान नेतृत्वको समूह अहिले जनस्वराज पार्टीमा नभए पनि सञ्चार जारी राखिएको पार्टीका नेताले बताए। नयाँ दलले “जनताले आफ्नो शासन आफै गर्ने” सिद्धान्तमा आधारित समावेशी र पारदर्शी राजनीतिक संस्कार विकास गर्ने दाबी गरेको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार