पर्साको ठोरीमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी, ४६ वर्षीय पुरुष पक्राउ

पर्साको ठोरीमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी, ४६ वर्षीय पुरुष पक्राउ

लोक आवाज ,

वीरगन्ज , २३ साउन । पर्साको ठोरी गाउँपालिकामा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही गाउँपालिका–५ का ४६ वर्षीय अशोक साह रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, घटना वैशाख २१ गते दिउँसो ठोरीस्थित जङ्गल क्षेत्रमा भएको हो। सो समयमा पीडित बालिका बाख्रा चराइरहेकी थिइन्। आरोप अनुसार, अशोक साहले बालिकालाई १० रुपैयाँ दिने प्रलोभन देखाउँदै ललाइफकाई गरेको र त्यसपछि यौन दुर्व्यवहार गरेका थिए।

घटनापछि बालिकाले परिवारलाई जानकारी गराएपछि पीडित पक्षले तत्काल प्रहरीमा जाहेरी दिएका थिए। जाहेरी प्राप्त हुनासाथ प्रहरीले अनुसन्धान सुरु गरेको र साहलाई उनको घरमै लुकिरहेका अवस्थामा नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।

प्रहरीले साहलाई प्रारम्भिक सोधपुछपछि जिल्ला अदालत पर्सामा पेश गरी तीन दिनको म्याद थप गरेको छ। म्याद थपको अवधिमा घटनासम्बन्धी थप प्रमाण संकलन, पीडितको बयान, चिकित्सकीय परीक्षण रिपोर्ट र प्रत्यक्षदर्शीको बयानको आधारमा अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।

स्थानीयबासीका अनुसार, घटनाले गाउँमा आक्रोश पैदा गरेको छ। बालिका र परिवारलाई सामाजिक तथा मनोवैज्ञानिक सहयोगको आवश्यकता रहेको बताउँदै, बालअधिकारकर्मीहरूले दोषीलाई कानुन अनुसार कडा कारबाही गर्न माग गरेका छन्।

यसबारे प्रहरीले बालबालिकामाथि यौन अपराध गम्भीर कसुर भएको र प्रमाण प्राप्त भएमा आरोपितलाई मुलुकी अपराध संहिता २०७४ अनुसार कठोर सजायको दाबी गर्दै अभियोजनको तयारी भइरहेको जानकारी दिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार