मधेसमा वर्षा नहुँदा धान रोपाइँ ठप्प, सरकारले घोषणा गर्‍यो सुख्खाग्रस्त क्षेत्र

मधेसमा वर्षा नहुँदा धान रोपाइँ ठप्प, सरकारले घोषणा गर्‍यो सुख्खाग्रस्त क्षेत्र

 

लोक आवाज ,

जनकपुरधाम । मधेस प्रदेशमा असार महिना सकिन लाग्दा पनि पर्याप्त वर्षा नहुँदा धान रोपाइँमा गम्भीर असर परेको छ । वर्षा अभावकै कारण रोपाइँको मुख्य समय मानिने असार अन्त्यसम्म पनि खेत सुक्खै रहेकाले प्रदेश सरकारले सम्पूर्ण मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ ।

कृषि विकास निर्देशनालयका अनुसार, असार २७ गतेसम्ममा मधेस प्रदेशमा जम्मा ३३.७८ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ सम्पन्न भएको छ । प्रदेशमा कूल ५ लाख ४२ हजार ५८०.७८ हेक्टर खेतीयोग्य जमिनमध्ये ३ लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रमा धान खेती गरिँदै आएको हो । तर हालसम्म १ लाख २५ हजार ८८८.६ हेक्टर जमिनमा मात्र रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ ।

मधेसका विभिन्न जिल्लाहरूमा रोपाइँको अवस्था फरक–फरक छ । पर्सामा सबैभन्दा राम्रो अवस्था देखिएको छ, जहाँ ७३.३४ प्रतिशत अर्थात २९ हजार १३८ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । तर, सप्तरीमा भने सबैभन्दा कम १६ प्रतिशत अर्थात् १० हजार ८८० हेक्टरमा मात्रै रोपाइँ भएको छ ।
त्यसैगरी, रौतहटमा ४५ प्रतिशत, बारामा ४० प्रतिशत, सर्लाहीमा ४० प्रतिशत, सिरहामा २९ प्रतिशत, धनुषामा २५ प्रतिशत र महोत्तरीमा १८ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ ।

यस अवस्थालाई मध्यनजर गर्दै बिहीबार साँझ बसेको मधेस प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशलाई सुख्खाग्रस्त घोषणा गरेको हो । साथै, प्रदेशमा पानीको संकट चुलिँदै गएको भन्दै राहतका लागि संघ सरकारसँग सहयोग माग गर्ने निर्णय समेत गरिएको छ ।

धान खेतीमाथि आश्रित किसानहरू आकाशे पानी नपरेकोमा निराश देखिन्छन् । समयमै रोपाइँ हुन नसकेको अवस्थामा उत्पादनमा ठूलो गिरावट आउने निश्चितप्रायः छ । कृषि विज्ञहरू भन्छन्, “यदि भदौ सुरुसम्म पनि पर्याप्त पानी परेन भने उत्पादन अघिल्ला वर्षको तुलनामा झनै घट्नेछ ।”

समस्या समाधानका लागि सिँचाइको वैकल्पिक व्यवस्था, डिप बोरिङ सञ्चालन र राहत प्याकेज तत्काल कार्यान्वयन गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार