सर्लाहीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई महिला गम्भीर घाइते,

सर्लाहीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई महिला गम्भीर घाइते,

 

 

जनकपुरधाम , ६ जेष्ठ । सर्लाहीको बागमती नगरपालिकास्थित जिरायत बजारमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने दुई जना महिला गम्भीर घाइते भएका छन्।

 

मंगलबार दिउँसो ४ बजे जिरायत बजारको भित्री सडकखण्डमा भएको दुर्घटनामा रौतहटको बिसुनपुर्वा गाउँपालिका–४ निवासी ३३ वर्षीय नागेन्द्र साह सोनार र काठमाडौं महानगरपालिका–२३ बसन्तपुर निवासी ३० वर्षीय विवेक मानन्धरको मृत्यु भएको हो।

 

इलाका प्रहरी कार्यालय लालबन्दीका अनुसार पुतली चोकबाट सोल्टी बजारतर्फ गइरहेको प्र.३-०२-००६प ७८६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बा५६प ५२६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुबै चालक गम्भीर घाइते भएका थिए। उनीहरूलाई तत्काल उपचारका लागि चन्द्रनिगाहपुर अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

 

प्र.३-०२-००६प ७८६८ नम्बरको मोटरसाइकलमा पछाडि सवार भारत बिहार राज्यको बकुलिया बस्ने ३४ वर्षीया मुनीदेवी साह र बा५६प ५२६ नम्बरको मोटरसाइकलमा सवार रौतहट बिसुनपुर्वा गाउँपालिका–४ की ३२ वर्षीया चञ्चल देवी साह गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

 

घाइते दुवै महिलालाई थप उपचारका लागि वीरगञ्ज पठाइएको छ। उनीहरूको अवस्था गम्भीर रहेको जनाइएको छ।

 

प्रहरीका अनुसार तीव्र गतिमा सवारी साधन चलाइएकै कारण दुबै मोटरसाइकल एक आपसमा ठोक्किएको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको र दुर्घटनास्थलबाट दुबै मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

 

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार