लोक आवाज ,
जनकपुरधाम, २४ वैशाख — भारत–पाकिस्तानबीचको पछिल्लो सैन्य तनावको प्रभाव नेपाल–भारत सीमावर्ती क्षेत्रमा देखिन थालेको छ। भारतले पाकिस्तानको सीमावर्ती क्षेत्रमा लक्षित मिसाइल आक्रमण गरेपछि नेपालसँग जोडिएका सीमाक्षेत्रहरूमा सुरक्षा सतर्कता तीव्र पारिएको छ।
विशेष गरी भिठामोड र जटही नाकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ। दुवै देशका सुरक्षाकर्मीहरू ती नाकाहरूमा तैनाथ छन् र प्रत्येक यात्रुको परिचय, गन्तव्य र यात्रा उद्देश्यबारे सोधपुछपछि मात्र आवतजावत अनुमति दिइँदैछ।
सामान्य अवस्थामा भिठामोड, जटहीजस्ता नाकाबाट नेपाली र भारतीय नागरिकहरू बिना अवरोध दैनिक आवतजावत गर्दथे। व्यापार, स्वास्थ्य उपचार, रोजगार तथा आफन्त भेटघाटका लागि दिनहुँ सयौं नागरिकले सीमा पार गर्दै आएका थिए। तर, हालको तनावपूर्ण अवस्थामा सो स्वतन्त्रता प्रभावित बनेको छ।
भिठामोड नाकामा खटिएका एक नेपाली सुरक्षाकर्मीका अनुसार भारत–पाकिस्तानबीचको तनाव नेपालमा प्रत्यक्ष असर नगरे पनि सीमाक्षेत्र सधैं संवेदनशील हुने भएकाले कुनै जोखिम नलिइएको हो। “विशेषगरी नयाँ अनुहार र शंकास्पद गतिविधि भएका व्यक्तिहरूमाथि निगरानी कडा गरिएको छ,” उनले बताए।
जटही नाका हुँदै भारतको मधुवनीतर्फ दैनिक आवतजावत गर्ने सर्वसाधारण अहिले सुरक्षा प्रक्रियाको कठोरताका कारण असहज महसुस गरिरहेका छन्। यात्रुहरूलाई सीमामा औसतमा ३० मिनेटसम्म सोधपुछपछि मात्र प्रवेश अनुमति दिइन्छ।
स्थानीय व्यवसायी रवि यादव भन्छन्, “हामी सधैंजसो भारतमा किनमेल गर्न जान्थ्यौं। अहिले सुरक्षा जाँचले धेरै समय लाग्ने भएको छ। हाम्रो व्यापार र दैनिकी नै प्रभावित भएको छ।”
सुरक्षा निकायहरूले यो अवस्था अस्थायी भएको र स्थिति सामान्य भएसँगै सहजता फर्किने बताएका छन्। तर, स्थानीय जनताले तत्कालीन असहजता समाधानको माग गरेका छन्। सीमा क्षेत्रका स्थानीयहरूका अनुसार आवतजावतको ढिलाइले विद्यालय जाने विद्यार्थीदेखि अस्पताल जानुपर्ने बिरामीहरूसमेत प्रभावित भएका छन्।
सीमावर्ती बजारहरूमा पनि असर देखिन थालेको छ। भारतीय बजारबाट सामान ओसारपसार गर्ने व्यापारीहरूले सुरक्षा प्रक्रियाको ढिलाइका कारण मालसामान ढुवानीमा समस्या आएको बताउँछन्। केही व्यापारीले तोकिएको समयमा सामान पुर्याउन नसक्दा घाटा बेहोरिरहेको बताएका छन्।
नेपाल–भारतबीच खुला सीमा प्रणाली रहे पनि बाह्य सुरक्षा परिस्थितिले त्यसमा बाधा पुर्याएको यो घटना पहिलो होइन। भारतको पश्चिमी सीमामा देखिएको तनावले पूर्वी सीमाक्षेत्रमा समेत प्रभाव पार्दा स्थानीय सुरक्षाकर्मी र प्रशासनले संयमता अपनाउन आग्रह गरेका छन्।




प्रतिक्रिया !