काठमाडौँ, चैत २७ – नेपाल भ्रमणमा रहेका भारतका कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहानले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्। बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास) अन्तर्गत कृषिमन्त्रीहरुको बैठकमा सहभागी हुन काठमाडौं आएका मन्त्री चौहानले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्।
भेटका क्रममा मन्त्री चौहानले नेपाल–भारत सम्बन्धको ऐतिहासिक र सांस्कृतिक गहिराइको चर्चा गर्दै, अबका दिनहरूमा कृषिको आधुनिकीकरण, खाद्य सुरक्षा, र आर्थिक समृद्धिको लक्ष्यमा दुवै देशले हातेमालो गर्दै अघि बढ्नुपर्ने धारणा राखे। उनले साना विवादलाई किनारा लगाउँदै मुख्य मुद्दाहरूमा सहकार्यलाई तीव्रता दिनुपर्ने बताए।
“दुवै देशबीचको कृषि सम्बन्ध अझ सशक्त बनाउन द्विपक्षीय सम्झौता र संयुक्त कार्य समूहहरूको प्रभावकारी सञ्चालन अपरिहार्य छ,” मन्त्री चौहानले भने। उनले थाइल्याण्डको बैङ्ककमा हालै प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्तालाई उल्लेख गर्दै, त्यसले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री ओलीले समेत कृषि क्षेत्रलाई मानव जीवनको मेरुदण्डको रूपमा व्याख्या गर्दै, यसको आधुनिकीकरण र नवप्रवर्तनमा दुवै छिमेकी देशबीच सहकार्य आवश्यक रहेको बताए। उनले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिवर्तनलाई ध्यानमा राख्दै संयुक्त प्रयासमार्फत आर्थिक समृद्धि सम्भव रहेको धारणा राखे।
“इतिहास र भावनामा मात्र होइन, अबको सम्बन्ध ठोस आर्थिक सहकार्यमा आधारित हुनुपर्छ,” प्रधानमन्त्री ओलीले उल्लेख गरे। उनले भारतसँगको विश्वासको वातावरण बलियो भएको भन्दै त्यसलाई आर्थिक क्षेत्रमा परिणत गर्नुपर्नेमा जोड दिए।
भेटवार्तामा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो।
यो भेटले नेपाल–भारत सम्बन्धमा कृषि क्षेत्रलाई केन्द्रमा राखेर सहकार्यलाई अझ सुदृढ बनाउने आशा गरिएको छ।




प्रतिक्रिया !