सुनिल कुमार साह ,
लोक आवाज ,जनकपुरधाम ०४ चैत । धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर ९ भठिहनस्थित चोकको नाम परिवर्तन गर्ने विवाद सोमबार उग्र बनेपछि प्रहरीले गोली चलाएको छ। विवाद भैरव चौकको नाम हटाएर जबरजस्ती यादवचोक राख्न खोज्ने एक समुदायको प्रयासले उत्पन्न भएको हो, जसका कारण स्थिति तनावपूर्ण बनेको छ।
सोमबार, विवादको क्रममा जब एक समुदायले बलपूर्वक यादवचोकको बोर्ड राख्न थाले, अर्को पक्षले विरोध गर्दै तनाव सिर्जना भयो। विवादले हिंसात्मक रुप लिएपछि केही युवकहरुले प्रहरीले नियन्त्रण गर्न खोज्दा ईटा र ढुंगामुढा हाने, जसका कारण प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाउन बाध्य भएको थियो।
घटनामा शहीद नगरपालिकाका वडा नम्बर १ कुम्भकरणका निवासी सन्तोष यादव घाइते भएका छन्। यादव कुम्भकरणका हुन् र भठिहन चोकबाट केही दूरीमा रहेका थिए। उनलाई जनकपुरधामस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको छ। अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
यादव पक्षले विरोधको क्रममा विरोधीको घरमाथि ढुंगामुढा गर्न थालेपछि प्रहरीले विवाद सम्याउन प्रयास गरेको थियो। तर, विवाद चर्किएपछि यादव पक्ष उग्र भएर प्रहरीमाथि नै आक्रामक भएको जनाइएको छ। आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको जानकारी दिएको छ।
प्रहरीका अनुसार, उक्त घटनामा प्रहरी अधिकारीहरु समेत घाइते भएका छन्। अहिले घटनास्थलमा शान्ति व्यवस्था कायम गर्नका लागि मोटो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रहरीले तनावलाई नियन्त्रणमा ल्याउन भरपूर प्रयास गरिरहेको छ भने स्थानीय प्रशासनले विवाद समाधानका लागि समुदायसँग छलफल गर्ने योजना बनाइरहेको छ। घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ भने स्थिति अझै पूर्णरुपमा सामान्य भएको छैन।
प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरेको छ र स्थानीय समुदायलाई संयम रहन आग्रह गरेको छ।




प्रतिक्रिया !