सुनिल साह ,
जनकपुरधाम, ५ चैत । जनमत पार्टीको मधेश प्रदेश संसदीय दलको बैठक बिहीबार जनकपुरधाममा सम्पन्न भएको छ।
पार्टीका शीर्ष नेताहरूको उपस्थितिमा सम्पन्न बैठकमा प्रदेशको समसामयिक राजनीतिक अवस्था, विकासका चुनौती तथा आगामी रणनीतिबारे व्यापक छलफल गरिएको जनाइएको छ।
बैठकमा विशेषगरी मधेश प्रदेशको विकास निर्माणको अवस्था, बजेट कार्यान्वयनको प्रभावकारिता, सेवा प्रवाहमा देखिएका समस्या तथा जनताको अपेक्षाअनुसार काम हुन नसकेको विषयमा सांसदहरूले धारणा राखेका थिए।
संसदीय दलको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनको समीक्षा समेत गरिएको थियो। केही सांसदहरूले योजना छनोट र बजेट विनियोजनमा पारदर्शिता अभाव रहेको गुनासो गर्दै प्रभावकारी अनुगमन प्रणालीको आवश्यकता औंल्याएका थिए।
बैठकमा पार्टीको आगामी रणनीति, संसदमा खेल्ने भूमिका तथा जनतासँगको सम्बन्ध सुदृढ बनाउने विषयमा पनि निर्णय गरिएको स्रोतले जनाएको छ। साथै, संगठन सुदृढीकरण र कार्यकर्ता परिचालनलाई प्रभावकारी बनाउने दिशामा छलफल केन्द्रित भएको थियो।
पार्टी नेतृत्वले प्रदेशसभामा जनताको मुद्दा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्दै सुशासन, पारदर्शिता र विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने स्पष्ट पारेको छ।




प्रतिक्रिया !