नापी कार्यालय धनुषामा टाइमकार्डसहित टोकन प्रणाली लागू, सेवाप्रवाह सहज हुने अपेक्षा

नापी कार्यालय धनुषामा टाइमकार्डसहित टोकन प्रणाली लागू, सेवाप्रवाह सहज हुने अपेक्षा

सुनिल साह ,
जनकपुरधाम, ५ चैत । नापी कार्यालय धनुषाले सेवाप्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउन टाइमकार्डसहितको टोकन प्रणाली लागू गरेको छ।

कार्यालयका अनुसार चैत ४ गतेदेखि नयाँ प्रणालीमार्फत सेवा प्रदान गर्न सुरु गरिएको हो। अब सेवाग्राहीहरूले कार्यालयमा उपस्थित भएपछि टोकन प्राप्त गर्नेछन् र सोही आधारमा सेवा दिने समय निर्धारण गरिनेछ। पहिलो पटक निवेदन दर्ता गरेपछि दोस्रो भिजिटमा तोकिएको समयअनुसार सेवा उपलब्ध गराइने व्यवस्था गरिएको छ।

कार्यालय प्रमुख उमेश कुमारले नयाँ प्रणालीले भीड व्यवस्थापन र समय बचतमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनका अनुसार पहिले सेवाग्राहीहरू लामो समय लाइनमा बस्नुपर्ने बाध्यता थियो भने अब निश्चित समयमा सेवा लिन सकिने व्यवस्था गरिएको छ।

उनले यस प्रणालीले अनावश्यक भीड घटाउने, पारदर्शिता बढाउने तथा कर्मचारी र सेवाग्राहीबीचको समन्वय सुधार गर्ने बताए। ‘हामीले सेवाप्रवाहलाई थप सहज, छिटो र व्यवस्थित बनाउन यो प्रणाली लागू गरेका हौं,’ उनले भने।

कार्यालयले सेवाग्राहीहरूलाई तोकिएको समयअनुसार उपस्थित हुन र आवश्यक कागजातसहित आउन आग्रह गरेको छ। नयाँ प्रणाली लागू भएसँगै सेवाग्राहीबाट सकारात्मक प्रतिक्रिया आउन थालेको र लामो समयदेखि रहेको प्रतीक्षा समस्या समाधान हुने अपेक्षा गरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार