सुनिल साह
जनकपुरधाम, ५ चैत । मुआब्जा वितरणमा ढिलाइ भएपछि पूर्व–पश्चिम रेल्वे आयोजनाअन्तर्गत बर्दिबास–भङ्गहा खण्डको निर्माण कार्य ठप्प भएको छ।
बर्दिबास क्षेत्रका १४ जना प्रभावित स्थानीयले मुआब्जा नपाएको भन्दै निर्माण कार्य अवरुद्ध गरेका हुन्।
भारत सरकारको सहयोगमा जयनगरदेखि भङ्गाहासम्म रेल सेवा सञ्चालनमा आइसके पनि भङ्गहादेखि बर्दिबाससम्मको विस्तार कार्य भने मुआब्जा विवादका कारण अघि बढ्न सकेको छैन। रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको यो खण्ड स्थानीय असन्तुष्टिका कारण प्रभावित भएको हो।
रेल विभागका अनुसार प्रभावित १४ जनालाई करिब ७ देखि ८ करोड रुपैयाँ मुआब्जा दिन बाँकी छ। उक्त रकम निकासका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग अनुरोध गरिसकिएको भए पनि बजेट अभाव र प्रक्रियागत ढिलाइका कारण भुक्तानी हुन सकेको छैन।
स्थानीय पीडितहरूले भने लामो समयदेखि मुआब्जाका लागि पहल गर्दा पनि सम्बन्धित निकायबाट सुनुवाइ नभएको गुनासो गरेका छन्। बारम्बार ध्यानाकर्षण गराउँदा पनि माग सम्बोधन नभएपछि उनीहरू बाध्य भएर निर्माण कार्य रोक्न पुगेका हुन्।
यसअघि नै चेतावनी दिँदै आएका स्थानीयहरूले अन्ततः निर्माणस्थलमै पुगेर काम अवरुद्ध गरेपछि अहिले उक्त खण्डमा काम पूर्ण रूपमा बन्द भएको छ।
रेल विभागले समस्या समाधानका लागि पहल भइरहेको दाबी गरे पनि प्रभावितहरू तत्काल मुआब्जा नपाएसम्म काम अघि बढ्न नदिने अडानमा छन्। यसले आयोजनाको समयसीमा लम्बिने र लागत बढ्ने सम्भावना बढेको छ।
पूर्व–पश्चिम रेल्वे आयोजना देशको दीर्घकालीन यातायात पूर्वाधार विकाससँग जोडिएको महत्वाकांक्षी परियोजना हो। तर, मुआब्जा वितरणमा देखिएको समस्या समयमै समाधान हुन नसक्दा आयोजनाको विश्वसनीयता र कार्यान्वयन क्षमतामाथि प्रश्न उठ्न थालेको छ।




प्रतिक्रिया !